19 February 2009

सत्र वर्षपछि स्वदेश


विदेशमा रहेकै बेला परिवार विखण्डित भयो, बालबालिका अभिभावकहीन भए।
दुई दशकअघि छोडेकी पत्‍नी कस्ती भइन् होला? तिनका कपाल फुले फुलेनन्? गर्भैमा छोडेको छोरो कस्तो भयो होला? पहिलोपटक बाबुलाई देख्दा के गर्ला? घर छोड्दा जेठी छोरी जम्मा ५ वर्षकी र सानी साढे दुई वर्षकी थिइन्। अहिलेकस्ता भए होलान्? कास्की जिल्लाको पोखरा घर भएका रामचन्द्र पराजुली सत्र वर्षे कोरिया बसाइपछि पहिलो पटक नेपाल फर्कदैछन्। आइतबार साँझ कोरियाको राजधानी सोलको प्रभु मनी ट्रान्सफरमा भेट्दा उनका अनुहारमा कौतुहल र जिज्ञासा मिसिएका थिए। लाग्थ्यो, पराजुलीलाई पत्‍नी र सन्तानलाई माया गर्ने हतार थियो। नेपालको बदलिदो रूप हेर्न हतार थियो। नदेखेको छोरो सुम्सुम्याउने हतार थियो। अहिले उनका छोरा सत्रवर्ष भए। रामचन्द्र २०४८ सालमा दुई छोरी र गर्भवती पत्‍नी छोडेर कोरिया हानिएका थिए टुरिस्ट भिसामा। त्यसो त २०५१ सम्म नेपालीलाई टुरिस्ट भिसामा कोरिया प्रवेश गर्न सजिलो थियो। यहाँको विमानस्थलमै भिसा पाइन्थ्यो। रामचन्द्र पराजुली कोरियामा रहेका नेपाली समाजको एउटा प्रतिनिधि पात्र हुन्। उनीसँग नेपालले प्राप्त गर्ने रेमिट्यान्स मात्र हैन सामाजिक पाटो पनि जोडिएको छ। पति पत्‍नीबीचको विछोडको कहाली लाग्दो रेखा छ। घरको आर्थिक अवस्था सुधार्न कोरिया हानिएका हुन् उनी। बितेका सत्र वर्ष कमाउँदै गए। खर्च हुँदै गयो। हुनत उनले ३- ४ वर्ष बितेलगत्तै नेपाल फर्कने योजना बनाएका थिए।कमाएको जति नेपाल पठाउथे। पैसा खर्च भइहाल्थ्यो। अनि मनमा उही ४ पैसा सँगाल्ने तृष्णा जागा न‍ हुन्थ्यो। त्यसैमा भासिएर उनी सत्र वर्ष यो बिरानो देशमा बसे। धेरै परिवार पति वा पत्‍नी एक विदेशमा रहँदा विखण्डित भएको छ । विदेशमा बस्नेले विदेशमै र स्वदेशमा बस्नेले स्वदेशमै नयाँ संसार बसाएका छन् । छोराछोरीको विजोग भएको छ । कतिका छोराछोरी पैसा पाउने तर सही अभिभावकत्व नपाउनाले बरालिएका छन्। अब सरकारले आफ्ना नागरिकलाई विदेश पठाउने मात्र होइन निश्चित समयमा स्वदेश फर्काउने उपाय पनि भन्ने सोच्नुपर्छ । विदेशमा कमाइ त होस् तर स्वदेशमा घरबार नबिग्रियोस्।

रामचन्द्रकै शब्दमा उनले २ करोड नेपाली रुपैया कमाए रे। प्रारम्भमा ६ भाइको सँगोल घरमा पैसा पठाउँथे उनी। पैसाको सदुपयोग नभएको पत्‍नीको गुनासोपछि विगत पाँच वर्षदेखि उनले आफ्नो परिवारलाई अलग राखे। पोखरा बजारमा घर ठडिएको छ अहिले। यता कोरियामा पनि उनले कहिले फलाम कम्पनी त कहिले प्लाष्टिक कम्पनीमा काम गरे रे। उनी भन्छन् ´म काममा निकै राम्ररी समर्पित थिए। त्यसैले प्रतिफल राम्रै पाए।´ कोरियामा नेपालीहरू एकै कम्पनीमा कमै टिक्छन्। भर्खरै आउनेका लागि रामचन्द्र उदाहरण पनि हुनसक्छन्। सत्र वर्षे बसाइमा उनले जम्मा तिनवटा कम्पनी परिवर्तन गरे। पछिल्लोमा उनी साढे १४ वर्ष टिके। यो कम्पनीमा कैयौं महिना उनले २० लाख वन अर्थात करीव २ हजार डलर भन्दा माथी तलब थापे। डलरको भाउ घटबड भइरहन्छ। ´कुनै महिना मेरो तलव डेड लाख नेपाली थियो´ उनले भने।
सत्र वर्षे कोरिया बसाइमा रामचन्द्र परिवार र गाँउ ठाँउको कल्पनामा हराए। मन बहलाउन नोरे क्लव (गित गाउने) र नाइट क्लव पनि धाए। भन्छन परस्त्री गमन चाँहि भएन। मनमा आफ्नो उद्देश्य गन्तव्य र लक्ष्यलाई जतनसाथ राखेपछि न त बाटो बिराइन्छ न त बेरोजगार भइन्छ। के उनकी पत्‍नीले उनकै भनाइ पत्याउलिन् त? बीचमा तिनले अविश्वास गरिन्। राम्राराम्रा कोरियाली युवतीको मायाँमा फसेर घर परिवार बिर्सेको आरोप पनि लगाइन्।´ रामचन्द्र भन्छन्- ´मैले सम्झाइबुझाइ गरेर उनलाई विश्वास दिलाएँ।´ रामचन्द्र चाँही के ठान्छन् त ? उनलाई पत्‍नीप्रति पटक्कै अविश्वास छैन रे। ´पूर्णीमाको ब्रत बसेर मेरै दीर्घायुको कामना गरिरहेकी पतिव्रतालाई कसरी अविश्वास गर्नु?´ उनले थपे।
हुनत सँगै बस्ने चाँहना यो दम्पतिले नगरेको होइन। समयले साथ दिएन। रामचन्द्र नेपाल जाउन् कोरिया आउन नपाउने। पत्‍नीलाई ल्याउने आधार थिएन। सोझो बाटोबाट नमिल्नेदेखेपछि यिनले छड्के बाटो पनि समाते। कोरियामा अध्ययनरत नेवार युवककी आमा बनाएर कोरिया छिराउने चाँजोपाँजो मिलाए। नेपालवाट कोरियाको अन्तर्राष्ट्रिय विमानस्थलसम्म त आइपुगिन् यिनकी पत्‍नी। अध्यागमन अधिकारीले कागजपत्रमा विश्वास गरेनन् । ´पारी मायाँ वारी म रुने´ भनेजस्तै भयो। उनले भने ´देखादेख भयो, रुदै बिदाइको हात हल्लायौं। उनी नेपाल फर्किन् म कोरिया फर्के।´
गत वर्ष रामचन्द्रका लागि सुखद भएन। मेसिनमा हात पेलियो। उपचार गराए। कम्पनीबाट क्षतिपूर्ति पनि भराए। हातमा स्टिल राखेको छ पछि निकाल्नुपर्छ। हात मेसिनमा परेपछि यिनले कम्पनीमा काम गरेका छैनन्। बल्ल यही हातकै कारण रामचन्द्रलाई आज नेपाल फर्कने संयोग जुरेको छ। उनले छोडेपछि चिनजान र आफन्त धेरै बिते रे। कोही बेपत्ता छन् रे। उनले कुराको बिट मार्दै भने खुलदुली भइरहेको छ। आफ्नै देश फर्कन पनि अनौठो लागि रहेछ। पत्‍नी छोरा छोरीसँगसँगै मन मस्तिष्कमा नातागोता खेतवारी र पाखा खेरा आँखामा फनफनी घुमिरहेका छन्।
हुनपनि वैदेशिक रोजगार परिवार विछोडको भासमा भासिएको छ। बैसमा छाडिएकी पत्‍नीको कपाल फुलिसकेको छ पति फर्कदा। गर्भमा भएका छोराछोरी हुर्की बढी वैवाहिक बन्धनमा बाँधिइसकेका छन्। रामचन्द्र त भाग्यमानी हुन्। उनको परिवार पर्खेर बसिरहेको छ। धेरै परिवार पति वा पत्‍नी एक विदेशमा रहँदा विखण्डित भएको छ। विदेशमा बस्नेले विदेशमै र स्वदेशमा बस्नेले स्वदेशमै नयाँ संसार बसाएका छन्। छोराछोरीको विजोग भएको छ। कतिका छोराछोरी पैसा पाउने तर सही अभिभावकत्व नपाउनाले बरालिएका छन्। अब सरकारले आफ्ना नागरिकलाई विदेश पठाउने मात्र होइन निश्चित समयमा स्वदेश फर्काउने उपाय पनि भन्ने सोच्नुपर्छ। विदेशमा कमाइ त होस् तर स्वदेशमा घरबार नबिग्रियोस्।


माधवी भट्ट