21 February 2009

कार्यस्थलमा यौनदुराचार र त्यसको प्रभाव


अमृत भण्डारी
अमेरिकाकै इतिहासमा सबैभन्दा बढी चर्चित भयो – बिल क्लिन्टन र मोनिका लेबेन्स्कीको यौन सम्बन्ध। राष्ट्रपतिको कार्यालयमा नै मोनिकासँग यौन सम्वन्ध राखेको साबित भएपछि झन्डै उनीमाथि महाअभियोग लागेको। मोनिकासँगको यौन सम्बन्ध सुरुमा अस्वीकार गरे पनि पछि प्रमाण भेटिएपछि क्लिन्टनले क्षमायाचना गरे र महाभियोगबाट जोगिए। सन् १९९० को दशकमा अमेरिकामा यौनदुराचारविरुद्ध आन्दोलन नै थालिएको देखियो। यौनदुराचारका घटना अत्यधिक प्रकाशमा आएपछि त्यसका विरुद्ध कडा कानुन बनाउनु पर्ने भयो। सामाजिक वा साँस्कृतिक सबै क्षेत्रमा यौनदुराचार व्याप्त रहेको पाइयो।
नेपालमा यौनदुराचारका विषयमा निकै कम अध्ययन भएको छ। अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले २००४ मा प्रकाशित गरेको नेपालमा कार्यस्थलमा यौनदुराचार–२ भन्ने प्रतिवेदनमा मिसेल रुबिन्सनलाई उद्धृत गर्दै लेखिएकोछ– “यौनदुराचार भनेको कुनै व्यक्तिद्वारा अनिच्छापूर्वक हुने यौन व्यवहार हो जसबाट प्रभावित व्यक्तिले आत्मग्लानि अनुभव गर्छ।” यसैगरी युरोपियन कमिसनको कोड अफ प्राक्टिसकाअनुसार कुन व्यवहार स्वीकार्य छ र कुन अस्वीकार्य छ भन्ने व्यक्ति आफैले निर्धारण गर्छ। यौनदुराचार व्यक्तिलाई मन नपर्ने व्यवहार हो। मित्रता सधै पारस्परिक हुन्छ भने यौनदुराचार बलजफ्ती हुने गर्दछ। कुनै महिला वा पुरुषलाई इच्छाविपरीत सुमसम्याउने, यौन उत्तेजनाका लागि पे्ररित गर्ने, बाटो छेक्ने, समात्न खोज्ने जस्ता कार्य यौनदुराचार हुन्। विश्वकै ठूलो समस्याका रूपमा देखा परेको यौनदुराचारबाट नेपाल पनि अछुतो छैन। नेपालको श्रमबजारमा महिला सहभागिता बढ्न थालेपछि कार्यक्षेत्रमा यौनदुराचारका घटना पनि बढ्न थालेका छन्। अन्तरराष्ट्रिय श्रम संगठनले नेपालका काठमाडौं, पोखरा, धरान, विराटनगर, वीरगन्ज र हेटौडामा गरेको अध्ययनले पनि यसको पुष्टि गरेको छ।
पुरुष र महिलासँगसँगै काम गर्ने ठाउँमा यौन दुराचारको जोखिम सधैं हुन्छ। कार्यालयमा सामान्यतः निम्न प्रकारका यौनदुराचार हुने गरेको पाइन्छ।

शारीरिक यौनदुराचार
यसमा चुम्बन गर्ने, धाप मार्ने, , चिमोट्ने, कसैलाई यौनांगमा छुने जस्ता कार्य पर्दछन्।

मौखिक यौनदुराचार
कसैलाई मन नपर्ने वा व्यक्तिले नरुचाउने प्रकारका अश्लील ठट्टा मौखिक यौनदुराचार हो। व्यक्तिको शरीरका कुनै अंगलाई चर्चाको विषय बनाउने – जस्तै तिम्रो गाला कति राम्रो। तिमी यो कपडा लगाउँदा निकै सेक्सी देखिन्छौ। तिम्रो कपाल कति राम्रो यस्तैयस्तै।

हावभाव (आसय) यौनदुराचार
यौन कार्यमा लाग्न पे्ररित गर्ने खालको हावभाव देखाउने, आँखा झम्काइरहने, टाउकोले इसारा गरे झै गर्ने, हात छुने, खुट्टा तथा औला र अन्य यौन अंगमा छुने जस्ता कार्य हावभाव गरिने यौनदुराचार हुन्।

लिखित यौनदुराचार
नांगा अश्लील तस्बिरहरू देखाउने, त्यस्ता वेबसाइट खोल्ने, प्रदर्शन गर्ने वा अरूलाई पठाउने र यौनसम्बन्धका लागि आग्रह गर्ने।

यौनदुराचार धेरै प्रकारका हुन सक्छन्। विकसित र विकाशील मुलुकमा हुने यौनदुराचार दुराचारको स्वरूप र अवधारणामा पनि फरक हुन्छ। धेरैजसो एकै ठाउँमा काम गर्ने हाकिम, सहकर्मी वा मातहतका बीचमा यौनदुराचारका घटना धेरै हुने गरेको पाइन्छ।

क्वाइड प्रो क्वो ( प्रलोभन देआउनु)
क्वाइड प्रो क्वो भन्नाले कुनै व्यक्तिलाई यौन शोषणका लागि धेरै तलबको आशा देखाउने, अनुचित लाभ दिने लोभ देखाउने र बढुवा गरिदिने आश्वासन दिने अदि बुझन्छ। यस्तो प्रकारको यौनदुराचारको व्यवहारले व्यक्तिको प्रतिष्ठा र क्षमतालाई चुनौती दिन्छ। कुनै कर्मचारीले हाकिमलाई यौनक्रियाद्वारा रिझाउन नमानेमा जागीरमा घटुवा गर्ने, काममा अवरोध गर्ने, अफठ्यारो बनाइदिने, अघिकारको कटौती गर्ने र उसलाई समर्पित गराउन नसकेमा जागीरबाट निकालिदिनेसम्मको व्यवहार गरिन्छ। साथै यौनदुराचारमा संलग्न नहुने वा त्यसका विरोध गर्ने कर्मचारीलाई कार्यालयमा बस्नै नसक्ने वातावरण बनाएर निरुत्साहित र निराश बनाउने पनि गरिन्छ। उसका सामु सधैका लागि कार्यालय नै छाड्नु पर्ने बाध्यता सिर्जना हुन्छ।

कार्यस्थलमा भएका सबै यौन मिश्रित ठट्टालाई यौनदुराचार ठान्नु भने गलत हो। रमाइलोका लागि ठट्टा गर्दा अर्को व्यक्तिले मन परायो भने त्यसलाई यौनदुराचारको कोटीमा राखिंदैन। यस्तै पारस्परिक सहमतिमा भएको व्यवहारलाई यौनदुराचार मानिंदैन।

नेपालमा धरै महिलाले यौनदुराचार सहनु परे पनि कसैलाई भन्ने वा कानुनी उपचार खोज्ने काम निकै कम हुने गरेको छ। वास्तवमा उनीहरुले आफ्ना अनिश्चित अघिकार, इज्जतमा दाग लाग्ने डर, त्रास र बदला लिने जोखिमबाट त्रसित भएर मुख नखोलेको अध्ययनहरूबाट देखिएको छ। यौनदुराचारको मामिलामा कानुनको सहायता लिंदा महिला र पुरुषको सामान्य सामाजिक सम्बन्ध र मित्रतालाई पनि आघात गर्न सक्दछ भन्ने सामान्य मान्यता पनि रहेको छ। धेरै जना त यौनदुराचारका मामिलामा हुने कानुनी कारबाहीले महिलालाई प्रोत्साहन गर्ने, उसका बारेमा सोधपुछ गर्ने, मित्रता बढाउने कार्यमा नै प्रतिकूल असर पुग्नसक्छ भन्ने ठान्छन्। तैपनि धेरै देशमा यौनदुराचार दण्डनीय अपराध बनाइएको छ र यौनदुराचारका मामिलामा शून्य सहिष्णुता अर्थात जिरो टलेरेन्स को अवस्था निर्माण गर्न खोजिएको हुन्छ। नेपाली समाजमा यौनका बारेमा छलफल गर्नु पनि लाज मानिन्छ। पढेलेखेकाहरू पनि यस विषयमा खुलेर कुरा गर्न हिचकिचाउँछन्।

इथिक्स इन वर्कल्पेस, न्युयोर्क–१९९६ का अनुसार यौनदुराचारका बारेमा तिनवटा धारणालाई यसरी लिन सकिन्छ।

महिलावादी धारणा
यसमा महिला र पुरुषको शक्ति सम्बन्धलाई प्रतिविम्वित हुने मानिन्छ। साथै आर्थिक दवावको सृजना गर्ने र महिलाको जीविकोपार्जनलाई चुनौती दिने हुन्छ। महिलाको यौन भूमिकाले उसको रोजिरोटीको निर्धारण गर्दछ भन्ने मान्यता महिलावादीहरूको रहेको छ। साथै बलत्कारको जोखिम पनि उत्तिकै हुन्छ।

कानुनी धारणा
शोषणयुक्त, असन्तुलित शक्ति सम्वन्धलाई प्रतिबिम्वित गर्दछ। यसमा देखिने र नदेखिने दुवै रोजगारीको सर्त समावेश हुन्छ। रोजगारीको निर्णायक आधारकोरूपमा यौनदुराचारको प्रयोग हुन्छ। फाइदा नलिने वा सम्झौता गर्ने रोजाइ सिर्जना हुन्छ।

व्यवस्थापकीय धारणा–पुरानो
नराम्रा भनिएका कार्यमा व्यक्तिलाई समावेश गराउँछ। मानिसको लक्ष्यमा अन्योल सृजना गर्दछ। यो प्रेम सम्बन्ध बिग्रिएको परिणाम पनि हुन सक्दछ। कामका लागि साधारण व्यवहार तथा सर्तका रूपमा यौनदुराचारलाई लिइएको हुनसक्छ। दोष लागे प्रतिष्ठामा आँच पुग्न सक्छ।

व्यवस्थापकिय धारणा–नयाँ
यौन आकर्षण र शोषणका लागि अनुचित शक्तिको प्रयोग भएको हुनसक्छ। कार्यसम्पादनमा यौन भूमिकाले सुनिश्चितता दिने र महिलालाई यौनवस्तुका रूपमा व्यवहार गर्ने हुनसक्छ। जवरजस्ती शोषण, अनुचित र अव्यवहारिक पेसागत धन्दा भन्दा बाहिर जस्ता विषयलाई समेट्न सक्छ। अन्ततः यो एक निकृष्ट व्यवहार हो भन्ने मान्यता राखिन्छ।

कार्यस्थलमा (अफिस, कार्यालय) यौनदुराचार
यौनदुराचार व्यक्तिको सुरक्षित र निश्चिन्त भएर काम गर्ने अधिकारको उल्लंघन मानिन्छ। यस्तो अवस्थामा कामदारले आफूलाई यौनदुराचारबाट जोगिनुलाई चुनौती ठान्ने गर्दछन्। यो देखिने वा नदेखिने एक अनिच्छापूर्वक हुने यौन व्यवहार हो। आईएलओले नीति निर्माता, कानुनविद तथा नागरिक समाजका सदस्य बीचमा गरेको एक अध्ययनमा १७ दसमलव ६ प्रतिशत पुरुष र ३० दसमलव ८ प्रतिशत महिलाले यौनदुराचारले काम गर्ने स्थानमा तनाव र फोहर वातावरणको सृजना गर्दछ भन्ने बताएका छन्। यौनदुराचारले शारिरीक र मानसिकरुपमा महिलालाई पीडा दिन्छ। यो अस्वीकार्य यौन व्यवहार लज्जास्पद र ग्लानिपूर्ण हुन्छ। नेपालमा महिलाको विषयमा बढी चर्चा भएपनि यसबाट पुरुष पनि पीडित हुन सक्छन्।
यौनदुराचारबाट विकासन्मोख देशका महिला बढी पीडित भएको पाइन्छ। तर त्यसको प्रचलन भने विकसित मुलुकमा पनि उत्तिकै व्यापक छ। हातको कुहिनाले महिलाको छातीमा छुने अनि झुक्किएर लागेको बहाना बनाउने, महिलाको छातीमा टोलाएर हेर्ने, पिठिउँमा धाप मार्ने, चुम्बन गर्न खोज्ने, हात मिलाएपछि पनि हात समाई राख्ने, अनावश्यक अंगालो हाल्ने, कपाल चलाइदिने, सुमसुमाउने जस्ता कार्य पनि यौनदुराचारका अभ्यासकारुपमा दिइन्छ। आईएलओको अध्ययनमा धेरै जसोको धारणामा कार्पेट उद्योगमा यस्तो दुराचार बढी हुने देखिएको छ भने त्यसपछि ४४ दशमलब ८ प्रतिशत निजी कार्यालयमा र ३३ दशमलब ३ प्रतिशत सरकारी कार्यालयमा यौनदुराचार हुने गरेको देखिएको छ। तह र मात्राको अन्तर मात्रै हो यस्तो खालको यौनदुराचार राष्ट्र संघदेखि अन्तराष्ट्रिय गैरसरकारी संस्थामा पनि हुने गरेको छ। ( नेपालको कार्यस्थलमा यौनदुराचार–२, पेज १७)। यौनदुराचार व्याप्त हुनुको कारणमा नीतिगतरूपमा यौनदुराचारलाई पहिचान गर्न नसक्नु, आर्थिक असमानता, अशिक्षा, व्यक्तिलाई पद र पैसाको मात लाग्नु आदि मानिएका छन्।
यौनदुराचार रोक्नका लागि केही संयन्त्र पनि छन्। अन्तरराष्ट्रिय मानवअधिकारका संयन्त्र र घोषणाको विश्लेषण गर्ने, राष्ट्रिय नीति बनाउने, यसका बारेमा संविधानमा पनि उल्लेख गर्ने, नेपाली कानुन र यौनदुराचारको विश्लेषण र जवरजस्ती यौनसम्वन्धको विरुद्ध कानुन बनाउने, बलत्कारको विरुद्धमा कडा कानुन बनाउने, नियन्त्रणात्मक कानुन बनाउने, गुनासो सुन्ने संयन्त्र स्थापित गर्ने साथै सञ्चार माध्यमले पनि चनाखो भएर यौनदुराचारका विरुद्धमा आवाज उठाउने हो भने यसलाई कम गर्न सकिन्छ। होइन भने पीडित पीडितै रहनेछ र दुराचारीले आफ्नो शक्तिको आडमा शोषण गरी मौका पाउँनेछ।

abamritofficial@gmail.com

- अमृत भण्डारी