02 February 2009

जटीलतातिर उन्मुख नेपाली राजनीति


सरकारकैसाझेदार दलहरुबाट असहमतिका चर्का स्वरहरु सुनिन थालेपछि नेपालको भावी राजनीति जटिलतातिर अगाडि बढ्ने संकेतहरु देखिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक सहमतिका लागि गरेको आव्हान सेलाउन पनि नपाउँदै त्यस्ता संकेतहरु देखिएका हुन्।
संयुक्त सरकारका प्रमुख प्रचण्डले उनकै शब्दमा नयाँ नेपाल बनाउन तीन वर्षअघि दिल्लीमा भएको १२ बुँदे सहमति जस्तै अर्को सहमतिको आवश्यकतामा जोड दिएका छन्।
तर माओवादी र अरु दलहरुबीच त्यसबेलादेखिनै रहेको आपसी अविश्वास झन गहिरिएको अहिलेको बेला नयाँ सहमतिको सट्टा नयाँ राजनीतिक भीडन्तको खतरा बढेर गएको छ।
सल्लाहको अभाव
प्रधानमन्त्री प्रचण्डले आइतबार रेडियो र टेलिभिजनबाट देशका नाममा संबोधन गर्नुअघि सरकारकै सहयात्री दलहरुसंग सल्लाह नगरेको गोप्य रहेन।
यो रणनीति हो वा सहयात्री दलहरुप्रतिको अविश्वास त्यो त प्रष्ट हुन बाँकीनै छ।
सत्ताधारी दलहरुबीच लगातार अविश्वास जारी रहेको कुरा भने प्रष्ट छ।
त्यसो नहुँदो हो त दुई तिहाई बहुमतको समर्थन प्राप्त शक्तिशाली सरकारका प्रमुख सरकार ढाल्न खेलिएका भनिएका खेलहरुबाट आतंकित हुँदै पटक, पटक विद्रोहको धम्की दिंदैनथे होलान्।
न त संयुक्त सरकारका सहयात्री दलहरु आफ्नै सरकार प्रमुखको धज्जी उढाउने र सरकारका विरुद्ध आन्दोलनको धम्की दिने अनौठो संसदीय अभ्यासमानै लिप्त हुन्थे।
खतरा
संविधानसभाको चुनाव, राजतन्त्रको उन्मुलन र गणतन्त्रको स्थापना भएपछि मुलुकले नयाँ गति र दिशा लिनेछ भनी आश्वासन दिएका दलहरु अहिलेको बेथिति र विचित्रको स्थितिका बीच उग्रवामपन्थी वा उग्रदक्षिणपन्थी विद्रोहको खतरा देख्न थालेका छन्।
सरकारमा रहेका तराईका दलहरुले दिएको आन्दोलनको धम्की र एमालेको फागुनमा हुने महाधिवेशनमा नेतृत्वको चयनको पृष्ठभूमिमा नयाँ राजनीतिक समीकरणको चर्चा पनि बढेको छ।
बाह्र बुँदे सहमति गर्ने ती दलहरुको सहमति आपसी विश्वासको जगमा खडा नभएकैले यो स्थिति आएको कतिपयको भनाई छ।
विश्वास र समझदारीको जगमा मात्र राजनीति असहमतिका बीच पनि अगाडि बढ्छ।
विश्वास र समझदारीको अभावमा जस्तोसुकै नयाँ सहमति भएपनि त्यो कृत्रिम हुने र दीगो नहुने पाठ राजनीतिक दलहरुले सिके भने मात्र बहुचर्चित नयाँ नेपालको राजनीतिले एउटा ट्रयाक समात्ने कतिपयको विश्लेषण छ।
उनीहरु भन्छन्, होइन भने यो एउटा अर्को गंभीर दुर्घटनाको शिकार बन्नेछ।
सुशील शर्मासंवाददाता, बीबीसी नेपाली सेवा