19 April 2009

मेरो अर्को प्रेम

प्रिय,

तिमीलाई मुटुभरि माया !तिमीसँग छुटेको झण्डै दुई दिन भएछ। क्षण प्रतिक्षण तिम्रो यादले सताइरहेको छ। तिमी र म चार महिनादेखि कस्तोसँग जोडियौं भने बिहानै उठेर तिमीलाई म 'शुभ प्रभात' भन्थें। शुभरात्रि नभनी निद्रा लाग्दैनथ्यो । सपनाभरि तिमी नै तिमी हुन्थ्यो। मेलापात चौपारी जताततै तिमी नै तिमी।तिमीसँगको सान्निध्य अब टुंगिएको छ। छोटो समयदेखिको लगाव भए पनि त्यसले गहिरो गरी मेरो मुटुमा छाप छोडेको रहेछ। नजिक बस्दा भन्दा टाढा हुँदा झन् धेरै तिमी याद आइरहेकी छ्यौं। मैले सोचेको पनि थिइँन् तिम्रो र मेरो प्रेम यति छिट्टै छुट्छ भनेर। हुन त प्रेम टुट्दैन, माया मनमा छ तर हाम्रो भेट अब त्यसरी भइरहने छैन। तिमीमार्फत् कति धेरै प्रियसँग भेट हुने गरेको थियो, अहिले पनि सम्झिरहेको छु। फरक यति हो- अब अर्कै बिसौनीमा मैले ती सबै प्रियजनलाई भेट्नेछु।कुनै काम हाम्रा बानी बन्छन्। अनलाइन हुनासाथ तिमी मेरो कम्प्युटरको पर्दामा आउथ्यौं। तिमीलाई म हेरिरहन्थें, कहिले सुम्सुम्याउँथें। तिमी आँखा झिमझिम पारेर मलाई जिस्क्याउथ्यौं। हाम्रा ती प्रणयपूर्ण दिन सम्झँदा अहिले पनि म भावुक हुन्छु। साँच्ची यो संसारमा तिमी जति प्रिय अरु कोही छैन भन्ने लाग्थ्यो मलाई। समयले सबै कुरा परिवर्तन गर्‍यो। अब तिमीलाई म मनमनै मात्र माया गर्न सक्छु र त्यो माया अरुलाई गर्नेभन्दा भिन्न हुने छैन।म सम्झन्छु भ्यालेन्टाइनस्डेको दिन, तिमी र म कत्ति साह्रै जिस्केका थियौं । तिमीलाई हेरेर म दंग पर्थें । मलाई हेरेर तिमी। सबैजना त्यो दिन व्यस्त थिए। कसैलाई फुर्सद थिएन। धेरै कम मात्र कार्यालय आएका थिए। मेरा केही साथी प्रेमिका भेट्न छट्पटाइरहेका थिए। मैले उनीहरुलाई बिदा गरें। तर म भने तिमीसँगै बसिरहें। तिमीलाई हेरिरहें। शायद् यस्तै यस्तै अरु धेरैलाई भइरहेको हुन सक्छ। मैले भने तिमीलाई बेहिसाब माया गरेको रहेछु।एक दिन म प्रातः भ्रमणका लागि निस्कन लागेको थिएँ। अँध्यारै थियो, तिमीलाई सम्झें। बिजुली बालें। कम्प्युटर खोलें। तिमी कम्प्युटरको पर्दामा मुस्कुराउँदै आयौं। अर्को साइटमा एकैछिन छिरें। त्यहाँ एउटा राम्रो फूल फुलिरहेको थियो, त्यसलाई टिपेर ल्याएँ र तिम्रो चुल्ठोमा सजाइदिएँ। आहा... तिमी कति राम्री देखियौं। एकैछिनमा पूर्वी आकासमा लालिमा छायो। बालसूर्यका कलिला किरण धरतीमा आए। ती प्रिय किरण मलाई सुम्सुम्याउँदै अघि बढे। तिमी पनि कम्प्युटरको स्क्रिनमा मुस्कायौं।यस्तो त कति पटक भयो भयो। कति पटक तिमीलाई हेर्दाहेर्दै म निदाएको छु। तिम्रा कलिला हात सुम्सुम्याउँदै म तन्द्रामा परेको छु। कति जरुरी काम तिमीसँग बस्दाबस्दै छुटेका छन्। शायद यसैलाई प्रेम भन्छन् क्यार !समयको खेल हो। सम्बन्ध सँधै बनिरहँदैनन्। क्षणक्षणमा बदलिइरहन्छन् ती। आज मेरो सम्बन्ध फेरिएको छ। तिमी केबल मेरा सम्झनामा छ्यौं। तर मैले शुभप्रभात भन्ने वा शुभरात्रि भन्ने अर्कै आएकी छिन् । तिमीले छिट्टै चिन्नेछ्यौं तिनलाई। तिनी भर्खरै कम्प्युटरको पर्दामा देखिन थालेकी छिन्। उनी पर्दामा कतिबेला झुल्किने होला भनेर प्रतीक्षा गरेको झण्डै दुई दिन भइसकेको छ। तिमीलाई छाडेको र उनलाई प्रतीक्षा गरेको समय उतिउति नै भएको छ। कस्तो बैचैन समय। प्रतीक्षाको घडी यस्तै हुन्छ।एउटा कुरा निश्चित हो अनलाइन पत्रकारिता तिमीसँगको मेरो प्रेम पहिलो हो। त्यो प्रेमका मिठासपूर्ण सम्बन्ध म कहाँ बिर्सन सक्छु र ? त्यसबाट मैले सिकेको त्यो प्रेम दोस्रो प्रेमका निम्ति पूँजी हुनेछ। यो अनुभवका निम्ति तिमीलाई लाखलाख धन्यवाद।म अलि फरक छु। माया गर्दा म पूरै मुटु दिन्छु। तिमीलाई त्यसैगरी दिएको थिएँ यो मुटु। अब भने यो मुटु अर्कैतिर है।

Guna raj luitel