09 August 2010

मिर्गौला रोगीउपचार

दीपक दाहाल, काठमाडौं, साउन २४-
खर्चिलो उपचारका कारण करिब ८० प्रतिशत मिर्गौला रोगी अस्पतालै पुग्न सक्दैनन्। अस्पताल पुगेकामध्ये ९० प्रतिशतले उपचारलाई निरन्तरता दिन सक्दैनन्।

मिर्गौला फेल भएकाको प्रत्यारोपण वा डायलोसिसमात्र हो। प्रत्यारोपणअघि साताको दुईपटक डायलोसिस गर्नुपर्छ।


विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष २ हजार ७ सय देखि ३ हजारसम्मको मिर्गौला बिग्रन्छ। यीमध्ये ५ सय हाराहारीमात्र डायलोसिस प्रक्रियामा जान्छन्।


नेपालका अस्पतालमा सय जनाजतिले प्रत्यारोपण गराउँछन्। ‘८० प्रतिशत मिर्गौला रोगी एकपटक पनि डायलोसिस गर्न नसक्ने अवस्थामा छन्,' राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेले भने, ‘डायलोसिस कति खर्चिलो हुन्छ भने बिरामीहरू आफैं खुरूक्क एउटा इन्जेक्सन लगाएर मारिदिनुस् न भन्छन्।'


साताको दुईपटक डायलोसिस गर्न सरकारी अस्पतालमा मासिक१५ हजार र निजीमा ३० हजार रुपैयाँ खर्च हुन्छ। ‘यसबाहेक रोग बढाउने, हड्डी बलियो पार्ने, प्रेसर नियन्त्रण गर्नेजस्ता औषधी खुवाउँदा सरकारीमा मासिक ३० हजार र निजीमा ५० हजार खर्च लाग्छ,' शिक्षण अस्पताल महाराजगन्जकी प्रत्यारोपण विशेषज्ञ दिव्या सिंहले भनिन्।


चिकित्सकहरूका अनुसार डायलोसिसलाई निरन्तरता दिने १० प्रतिशतमध्ये अधिकांश सरकारी नीतिअनुसार निःशुल्क गराइरहेका छन्। ७५ वर्षमाथि र लोपोन्मुख जातिका नागरिकलाई सरकारले मिर्गौला रोग केन्द्रमा निःशुल्क डायलोसिस गराउँछ।


पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा दुई वर्षदेखि श्रीमतीलाई डायलोसिस गराउँदै आएका बाग्लुङका तुलवहादुर पुनले गरिबी र हैरानीका कारण शनिबार अस्पतालभित्रै आत्महत्या गरेका थिए ।


सिंहका अनुसार अस्पताल आउनेमध्ये दुइतिहाइले खर्चिलो उपचारका कारण एक महिनामै डायलोसिस गराउन छाड्छन्। बाँकीमध्ये धेरैले तीन महिना पनि खर्च धान्न सक्दैनन्।


अन्तर्राष्ट्रिय मापदण्डअनुसार मिर्गौला फेल भएकाले साताको तीनपटक डायलोसिस गर्नुपर्छ तर नेपालमा सामान्यतयाः दुईपल्टमात्र गराइन्छ। ‘सक्नेले तीनपल्ट पनि गर्छन् तर खर्चकै कारण सामान्यतयाः दुईपटक गर्न सल्लाह दिन्छौं,' उनले भनिन्।


मिर्गौला फेल भएकाको उपचार प्रत्यारोपण नै हो तर दाता नपाउँदा वा एकैपटक प्रत्यारोपणका लागि ठूलो खर्च जुटाउन नसक्दा डायलोसिस गराउनुपर्छ।



चिकित्सकहरूका अनुसार डायलोसिस गराइरहेका बिरामीले धेरै काम गर्न सक्दैनन् तर प्रत्यारोपण गराएकाले सामान्य मानिसको जस्तै काम गर्न सक्छन्। नेपालमा वीर र टिचिङ अस्पतालमा प्रत्यारोपण हुन्छ।


काठमाडौंमा राष्ट्रिय मिर्गौला रोग केन्द्र, टिचिङ, वीर, बिएन्डबी, ब्ल्युक्रस, लाइफ केयर र किस्ट मेडिकल कलेजमा डायलोसिस सेवा छ। पोखरामा मणिपाल, गण्डकी मेडिकल कलेज, चरक र पश्चिमाञ्चल अस्पतालमा पनि सेवा छ।


भरतपुर, नेपालगन्ज र वीरगन्जमा डायलोसिस उपलब्ध छ भने विराटनगरमा नोबेल मेडिकल कलेजले चाँडै सुरु गर्दै छ।


डायलोसिस गराइरहेकामध्ये आधा २ सय ५० ले मिर्गौला रोग केन्द्रमै सेवा लिइरहेका छन् भने बाँकीले अन्य अस्पतालमा।


टिचिङ र धरानमा घरमै आफैं डायलोसिस गराउने प्रविधि पनि उपलब्ध छ जो सामान्यभन्दा महँगो छ। ‘डायलोसिस महँगो मूल्य तिरेर जीवन लम्ब्याउने प्रविधि हो,' सिंहले भनिन्, ‘कतिपय अवस्थामा मिर्गौला रोगमा लक्षणै देखिँदैनन्, लक्षण देखेर अस्पताल पुग्दा मिर्गौलाले काम गर्न छाडिसकेको हुन्छ।'


गम्भीर रोगको उपचारका लागि अन्तर्राष्ट्रिय रूपमा अभ्यास भएजस्तै विशेष कोष बनाउन सिंह र काफ्लेको सुझाव छ। ‘प्रत्येक नागरिकको मासिक आम्दानीको एक प्रतिशत कोषमा राख्ने हो भने सबैले उपचार पाउँछन्,' काफ्लेले भने, ‘अहिले प्रत्यारोपण गर्ने पैसा र मिर्गौला दाता खोज्दैमा ६ महिना लाग्छ, यो अवधिमा बिरामीको पैसा सकिन्छ, डायलोसिस रोक्छ र कतै गएर उसको मृत्यु हुन्छ ।' कम्तीमा ६ महिना सबैलाई निःशुल्क डायलोसिस सेवा दिएर प्रत्यारोपणका लागि दाता र पैसा जुटाउने अवसर दिनुपर्ने उनको सुझाव छ।



मिर्गौला रोगबाट यसरी बचौं

नियमित व्यायाम
मधुमेह रोगीले चिनीको मात्रा नियन्त्रण
रक्तचाप नियमित जाँच
रक्तचाप १४०/९० वा बढी भए चिकित्सक भेट्ने
धुम्रपान नगर्ने
जथाभावी औषधि नखाने
दुखाइ कम गर्ने औषधिले मिर्गौलालाई हानी पुग्छ दिनमा करिब ६ गिलास पानी पिउने


मिर्गौला रोगका मुख्य कारण

मधुमेह
उच्च रक्तचाप
नेफ्राइटिस
मिर्गौला पत्थरी
वंशाणुगत रोग



काम गर्न छोडेपछिका लक्षण

खुट्टा र आँखाका डिल सुन्निने
थकाइ लाग्ने
खान मन नलाग्ने
पिसाब छिनछिनमा लाग्ने
पिसाबमा अन्य समस्या देखिने