01 December 2010

'स्कूलमा पढ्न आउने हो, बाइक देखाउन होइन'

स्कूलमा पढ्न आउने हो, बाइक देखाउन होइन'


Wednesday, 01 December 2010 10:04 नागरिक .1
रुबी रौनियार, काठमाडौं, मंसिर १५- बाइक दुर्घटनामा दुवै खुट्टा गुमाएकी सहपाठी रसु शाक्यको तस्बिर देखाउँदै जेभियर इन्टरनेसनल स्कुलका प्रबन्ध निर्देशक प्लस टुका विद्यार्थीलाई भन्दै थिए, 'हेर भाइबहिनी हो, अहिले तिमीहरूको पढ्ने बेला हो, जथाभावी बाइक चलाउँदा रसुको जस्तै भयो भने?'



दुई साताअघि बाइकमा कलेज आउँदै गर्दा कक्षा १२ की विद्यार्थी रसु दुर्घटनामा परेकी थिइन्। तस्बिरवरिपरि कक्षा ११ र १२ का विद्यार्थी र केही अभिभावकलाई राखेर कालोपुलस्थित स्कुलका प्रबन्ध निर्देशक लोकबहादुर भण्डारीले मंगलबार सम्झाए, 'उमेर र शरीरले तिमीहरू परिपक्व भइसकेका छैनौं, स्कुलमा पढ्न आउने हो, बाइक प्रदर्शन गर्न होइन।'



सोही स्कुलमा कक्षा १२ पढ्ने अर्का विद्यार्थीले बाइकमा स्कुल आउँदा दुर्घटनामा ज्यान गुमाएको दृष्टान्त दिँदै थिए भण्डारी।



सोल्टीमोडको एभरेस्ट इन्टरनेसनल कलेजले बुधबारैदेखि प्लस टुका विद्यार्थीलाई बाइक ल्याउन कडाइ गर्ने भएको छ। कलेजका कक्षा १२ का विद्यार्थी सुरेश लामाको बाइक दुर्घटनामा गत महिना मृत्यु भएपछि अभिभावकको सहमतिमा कडाइ गर्न लागिएको हो। 'हामीले यो जानकारी विद्यार्थी र अभिभावकलाई गराएका छौं,' कलेजका निर्देशक हरि काफ्लेले नागरिकसँग भने।



जेभियरमा प्लस टु पढ्ने १३ सय विद्यार्थीमध्ये आधा बाइक चढ्छन्। धेरैजसो पल्सरमा हुइँकिन रुचाउँछन्। 'बाइकले प्लस टुका विद्यार्थीको पढाइदेखि घरसम्मको व्यवहारमा नकारात्मक असर पार्छ,' भण्डारीले भने।



लाजिम्पाटस्थित जेभियर एकेडेमीले मंसिर १ देखि नै कलेजमा बाइक ल्याउन रोक लगाएको कार्यक्रम संयोजक देवराज भण्डारीले बताए। उनले भने, 'स्कुलमा बाइक ल्याउँदा पढाइमा नकारात्मक असर पर्छ।'



गत वर्ष कलेजले कक्षा ११ का विद्यार्थीलाई बाइक चढ्न रोकेको थियो जसले नतिजामा ४५ प्रतिशत सुधार आएको संयोजक भण्डारीले जानकारी दिए।



बाइक हुने विद्यार्थीले स्कुल बंक गर्ने, बाइकमा समूह बनाएर ग्याङफाइटमा दौडने, ढिलो घर जाने, बाइक स्याहार र चलाउन बढी समय खर्चने उनले बताए।



उच्च माध्यमिक विद्यालय सञ्चालक संघ नै बाइक रोक्ने अभियानमा लाग्दै छ। पुस ३ मा हुने उपत्यकाका उच्च माविको भेलामा बाइक रोक्ने विषयमा छलफल गरी आचारसंहिता बनाउने प्रक्रिया बढाइने संघका सचिव लोकबहादुर भण्डारीले जानकारी दिए।



१८ वर्ष पुगेकालाई मात्र लाइसेन्स दिन र ट्राफिकबाट कडा अनुगमन गराउन माग गर्ने भेलाले ड्रेस कोड सुधार तथा स्कुलमा सामाजिक विकृति कम गर्न चेतनामूलक कार्यक्रम ल्याउने उनले बताए।



महानगरीय प्रहरी परिसरका एसपी रमेश खरेलका अनुसार प्रहरीले पनि सञ्चालकहरूसँग समन्वय गरेर चाँडै एक महिनासम्म सचेतनामूलक कार्यक्रम चलाउँदै छ। 'विशेष गरेर प्लस टुकै विद्यार्थीमा बढी विकृति देखिएको छ,' खरेलले भने, 'बाइक दुर्घटनामा पनि प्लस टुकै विद्यार्थी बढी परेका छन्।' विद्यार्थीलाई बाइक चलाउन निरुत्साहन गर्न प्रहरी र स्कुल सञ्चालकबीच यसअघि पनि छलफल भइसकेको छ।