10 March 2011

महत्वपूर्ण अंग मिर्गौला

Hi everybody have a nice day.lalitदीपक दाहाल, काठमाडौं, फागुन २६- टाउको, जोर्नी, ढाड वा शरीरका कुनै अंग दुख्नेबित्तिकै औषधीपसलमा गएर 'पेनकिलर' किनेर खाने बानी छ? 
यस्तो बानीले एकैछिन दुखाइ त घटाउला तर रगत र शरीरका अन्य स्थानमा जम्मा भएका विकार सफा गर्ने महत्वपूर्ण अंग मिर्गौलालाई भने डरलाग्दो असर पुर्‍याउँछ।
चिकित्सकका अनुसार मिर्गौला जोगाउने महत्वपूर्ण उपाय हो- पेनकिलर कम खाने, त्यो पनि चिकित्सकको सल्लाहमा मात्र।
वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालका अनुसार दुखाइ कम गर्ने समूहमा पर्ने ब्रुफिन, ब्रुसेट, इन्डोमेथासिन, डाइक्लोफिनजस्ता औषधी मिर्गौलाका लागि घातक हुनसक्छ।
बरालका अनुसार कतिपय व्यक्तिमा दुखाइ कम गर्ने औषधीको एक-दुई मात्रा सेवनले नै मिर्गौला फेल हुन सक्छ जसलाई 'एक्युट रेनल फेलियर' भनिन्छ। कतिपयमा भने लामो समयसम्म दुखाइ कम गर्ने औषधी सेवन गरेपछि मिर्गौलाको समस्या देखिन्छ जसलाई चिकित्सकीय भाषामा 'एनल्जेसिक नेफ्रोप्याथी' भनिन्छ।

मिर्गौलामा रगत आपूर्ति गर्न प्रोस्टिनग्याल्डिन नामक हर्मोनमा पूर्ण भर पर्ने शरीरमा दुखाइ कम गर्ने औषधी सेवन गरेको केही समयमै यो महŒवपूर्ण अंग फेल हुन्छ। 'दुखाइ उत्पन्न गराउने हर्मोन पनि यही हो,' बरालले भने, 'औषधी खाएपछि दुखाइ पनि कम हुन्छ, मिर्गौलाले पनि काम गर्न छाड्छ।'
तत्काल मिर्गौला फेल हुँदा पिसाब बन्द वा कम हुन्छ र शरीर सुन्निन थाल्छ। तत्कालै औषधी बन्द गरेर अस्पताल गए यो समस्याको उपचार हुने चिकित्सक बताउँछन्। बरालका अनुसार वीरमा मात्र मासिक दुईजना यस्ता बिरामी आउँछन्।
लामो समयसम्म दुखाइ कम गर्ने औषधी सेवनले हुने मिर्गौला फेल (एनल्जेसिक नेफ्रोप्याथी) मा डाइलसिस वा प्रत्यारोपणको विकल्पमात्र हुन्छ। युरिक एसिड, कम्मर दुखाइ, माइग्रेनजस्ता लामो समयसम्म दुखाइ कम गर्ने औषधी प्रयोग गर्नुपर्ने अवस्थामा मिर्गौला फेल हुने सम्भावना हुन्छ।
'
जथाभावी पेनकिलर नखानू, चिकित्सककै सल्लाहमा खानेले पनि कम्तीमा ६/६ महिनामा मिर्गौला जाँच गर्नू,' बरालले सल्लाह दिए, 'दुखाइ कम गर्ने औषधी खाँदै खान्न भन्न सकिन्न, तर चिकित्सकको सल्लाह लिनैपर्छ।'
बरालले तत्काल काम गर्न छाडेर आउनेभन्दा धेरैजसो बिरामी लामो समय पेनकिलर सेवनबाट हुने मिर्गौला फेलियरको सिकार हुने बताए। 'पेनकिलरले मिर्गौला फेलसँगै अल्सर पनि निम्त्याउनसक्छ,' उनले भने।
गिद्द लोप हुनुको प्रमुख कारण दुखाइ कम गर्ने औषधी डाइक्लोफिन पनि हो। गाईभैंसीको दुखाइ कम गर्नसमेत यो औषधी प्रयोग हुने र यस्ता गाईभैंसीको सिनो खाएर बाँच्ने गिद्दका मिर्गौला यही औषधीकै कारण फेल हुने चिकित्सक बताउँछन्।
आयुर्वेदिक औषधीको नकारात्मक प्रभाव नहुने भन्दै प्रचार गरिए पनि जडीबुटीमा हुने विषादीले समेत मिर्गौलालाई असर गर्ने बरालले बताए।
जथाभावी पेनकिलर सेवनसँगै ब्लडप्रेसर वा मधुमेह मिर्गौला बिग्रिनुका प्रमुख कारण भएको वीरका अर्का विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले बताए। 'दुर्घटना, मिर्गौलामा पत्थरी र बढी औषधीको सेवनले पनि मिर्गौलासम्बन्धी रोग लाग्छ,' उनले भने।
धेरै वाकवाकी लागे, टाउको दुखे, उच्च रक्तचाप, कम पिसाब भए, शरीर वा छाला चिलाउन थाले र शरीरका विभिन्न भाग सुन्निए मिर्गौलारोग लागेको हुनसक्छ। जनसंख्या वृद्धिदर, वृद्धहरूको संख्या वृद्धि, सहरीकरण, अस्वस्थ भोजन, अधिक मोटोपन, व्यायाम कमीले मधुमेह बढ्दै जाने र यसले मिर्गौलामा असर गर्ने उनले बताए। श्रेष्ठका अनुसार मिर्गौला बिग्रेपछि मुटुमा दबाब पर्ने र अधिकांश अवस्थामा मुटुले नै काम गर्न छाडेर बिरामीको मृत्यु हुन्छ।
विकासशील देशमा बदलिँदो जीवनशैलीसँगै मिर्गौला रोगीको संख्या बढिरहेको भन्दै चिकित्सकहरूले वर्षमा एकपटक अनिवार्य मिर्गौला जाँच गर्न सुझाव दिएका छन्। रगतमा क्रियटिनिन र पिसाबमा प्रोटिनको मात्रा जाँचे मिर्गौलाको अवस्थाबारे थाहा हुन्छ जसका लागि सरकारी अस्पतालमा ४० रुपैयाँ लाग्छ।
तथ्यांकअनुसार नेपालमा करिब २८ लाख मिर्गौलारोगी छन् जसमध्ये अधिकांशलाई रोग लागेकै थाहा छैन। २८ हजारको मिर्गौला 'फेल' भइसकेको छ। अन्तिम अवस्थामा पुगेका मिर्गौलारोगी १० हजारभन्दा माथि पुगेको चिकित्सकको अनुमान छ। चिकित्सकका अनुसार वार्षिक करिब २ हजार ८ सय नयाँ मिर्गौलारोगी थपिन्छन्