04 December 2011

संविधान निर्माणको कार्यतालिका सामान्य संशोधन सहित पारित


काठमाडौं, मंसिर १८ – 
संवैधानिक समितिले विवाद समाधान उपसमितिले तयार पारेको संविधान निर्माणको कार्यतालिका सामान्य संशोधन सहित पारित गरेको छ । संविधानसभाको म्याद ६ महिना थपिएपछि आइतबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले उपसमितिले तयार गरेको कार्यतालिका सामान्य संशोधन सहित पारित गरेको हो । 
 
संविधान निर्माणको कार्यतालिका समान्य संसोधन सहित संविधानसभामा पठाउने निर्णय गरेको उपसमिति संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिनुभयो । विवादित बुँदामा संविधानसभामा मतदान हुनुभन्दा पहिले सकेसम्म सहमति गर्ने विषय कार्यतालिकामा थपिएको उहाँले बताउनुभयो ।  
 
त्यस्तै समितिका सभापति निलाम्बर आचार्यले राज्य पुनर्संरचना आयोगले ढिलो सुझाव दिने भएकोले त्यस अगावै राज्य पुनर्संरचनासँग जोडिएका विवाद बाहेक अरु विषयलाई समेटेर  एकीकृत मस्यौदा तयार गर्ने निर्णय भएको बताउनुभयो । कार्यतालिका २० गते बस्ने संविधानसभाको बैठकले अनुमोदन गर्नेछ ।   
 
संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले जेठ १४ गतेभित्र संविधान जारी गर्ने गरी सचिवालयले तयार पारेको कार्यतालिकालाई मंसिर १६ गते अन्तिम रुप दिएको थियो । 
 
कार्यतालिका अनुसार संवैधानिक समितिले राज्य पुर्नसंरचनासँग सम्बन्धित विषय बाहेक अरु विषयको पहिलो मस्यौदा पुस २६ देखि माघ १५ सम्म तयार गर्ने उल्लेख छ । यस्तै राज्य पुर्नसंरचना सुझाव उच्चस्तरीय आयोगले सरकारलाई पेश गर्ने प्रतिवेदन सरकारबाट माघ १५ सम्म संविधान सभामा पेश गर्ने, आयोगको सुझाव समेतका आधारमा राज्य पुनर्सरचना समितिको प्रतिवेदनलाई माघ मसान्त सम्ममा अन्तिम रुप दिने र संवैधानिक समितिले राज्य पर्नुसंरचनासँग सम्बन्धित विषय समेतलाई समेटेर फागुन १ देखि १५ सम्म पहिलो मस्यौदा तयार गर्ने उल्लेख छ । 
 
जेठ ८ देखि १४ गतेभित्र संविधानसभाबाट पारित संविधानमा सबैले हस्ताक्षर गरी अध्यक्षले प्रमाणिकरण गरी राष्ट्रपति समक्ष पेश गर्ने र राष्ट्रपतिले नयाँ संविधान जारी गर्ने कार्यतालिका छ ।