14 December 2011

भूमिभित्रको भव्यता


प्रदीप बस्याल

भूमिभित्रको भव्यता


सर्वोच्च शिखर सगरमाथाको मात्र सातपटक सफल आरोहण गरसिकेका पिटर एथेन्समा छिप्पिँदो उमेरसँगै हिमाल आरोहणको सोख पनि विस्तारै कम हुँदै थियो। र, उस्तै प्रकृतिको अर्को काममा हात हाले, जसले तत्कालीन रूपमा सगरमाथा आरोहणको जस्तो वाहवाही त दिँदैनथ्यो तर मानव सभ्यता र इतिहासको अध्ययनमा उनको योगदान सर्वोच्च शिखर चुम्दाको भन्दा कम महत्त्वपूर्ण भएन। हो, उनी हिमाल आरोहीब्ााट गुफा अन्वेषकमा रूपान्तरति भए। त्यही फेरएिको सोखले ५० वर्षे उमेरमा यी नामुद हिमाल आरोहीलाई सन् २००७ मा पुनः नेपाल फर्कायो, जसले गुफा उत्खननका क्रममा मुस्ताङमा करबि चार हजार वर्ष पुरानो गुफासम्म फेला पारे। पछिल्लो चार वर्षमा उनको नेतृत्वमा हिमालपारकिो त्यस जिल्लाका ४१ वटा गुफा परसिरको अन्वेषण/उत्खनन भइसकेको छ।

पुरातत्त्व विभागसँगको सहकार्यमा अमेरकिी अनुसन्धान संस्था स्काइडोर फाउन्डेसन र नेसनल जियोग्राफिक टेलिभिजन एवं म्यागजिनको प्रसारण/प्रकाशक संस्था नेसनल जियोग्राफिक सोसाइटीले गरेको अनुसन्धानबाट ती गुमनाम गुफाका बारेमा पत्ता लागेको हो। अनुसन्धानका नतिजा यति रोचक छन् कि त्यसले गुफामा बस्ने प्राचीन मानवहरूबारे नजिकबाट थप तथ्यहरू दिएको छ।

त्यस भेगमा केही प्राकृतिक रूपमै बनेका गुफाहरूसमेत पाइएका छन् तर मानव बसोबास भएको पाइएका अधिकांश गुफा भने मानव निर्मित नै हुन्। स्थानीयहरूसँगको समन्वयमा अहिले ती गुफालाई स्थानीय भाषामै नामकरण गरएिको छ। ताङ्वे, सामजोङ र छुक्साङमा कतिपय गुफाहरू महत्त्वपूर्णजस्ता लाग्ने गरे तापनि स्थानीयहरूले त्यसलाई आफ्नो भूमिदेउता मान्ने कारण कुल्चिन नहुने धार्मिक आस्थाका कारण जान दिएका छैनन्। धेरैमा त आजकल उनीहरू नै पनि जाँदैनन्।

हालसम्म ४१ व्ाटा त्यस्ता केभ कम्पेक्स -गुफा परसिर)को विस्तृत अनुसन्धान भएको छ। जसमध्ये नुप्छोक, कोन्जोलिङ, गदेलिङ, चैलेगेट, रजिलिङजस्ता गुफाहरू धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण पाइएका छन्। झोङ क्योरे-उत्तर र झोङ क्योरे-दक्षिणचाहिँ मानव बस्तीका दृष्टिकोणले नमुना लाग्छन्।

बलौटे माटो -स्यान्डस्टोन)ले बनेका पहाडको पहरामा रहेका ती गुफाभित्र सामान्य घरमा झैँ भान्सा कोठा, साधना कोठा, पाहुना कोठा र शौचालयलगायत भेटिएका छन्। त्यहाँ अक्सिजन र प्रकाशका लागि भनेर ठाउँठाउँमा झ्यालजस्तो प्वाल बनाइएको छ भने कतिपय स्थानमा लामो प्वालसमेत पाइन्छ। अन्वेषणका क्रममा त्यहाँ खाना पकाउने माटो, तामा र काठबाट बनेका भाँडाकुँडा, चुलोचौकाहरूसमेत भेटिएका थिए। अझ रोचक पक्ष त के भने ती गुफाहरू विभिन्न तला र कोठाका रूपमा भित्रभित्रै जोडिएका छन्। पुरातत्त्व विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामा भन्छन्, "अहिले देखिने ठूल्ठूला महल र कम्ल्पेक्सहरू उतिबेलै गुफाभित्र डिजाइन गरएिका रहेछन्।" जस्तो ः उत्तरतिरको झोङ क्योरे गुफा पाँच तलामा विभाजित छ, जसका २४ कोठा अझैसम्म पनि छन्। गुफामा सुरुङ मार्ग बनाएर त्यसलाई 'प्यासेज'का रूपमा प्रयोग गर्दै दुवैतिर कोठाहरू निर्माण गरएिका छन्। गुफाका सबै तलामा शौचालय र बरन्डासमेत छ। बाहिरबाट हेर्दा सानो प्वालजस्तो देखिए तापनि धेरैमा भित्रपट्ट िविशाल कोठाहरू छन्।

सन् '९० को दशकको अन्त्यतिर मुस्ताङको टुकुचेस्थित चोकोपानी लघु जलविद्युत् परयिोजना स्थापना गर्ने क्रममा सुरुङ खन्दा गुफाहरू भेटिएका थिए। तिनका वरपर मानव कंकाल र पुरातात्त्विक वस्तुहरू पनि फेला परेका थिए। यो नै टुकुचेमाथि उपल्लो मुस्ताङमा त्यस्ता धेरै गुफाहरू हुनसक्ने संकेत थियो। त्यही आधारमा सन् १९९२ मा पहिलोपटक त्यस भेगमा पुरातात्त्विक अध्ययन सम्भव भयो। यद्यपि, इटालीको रोम विश्वविद्यालयका पूर्वीय दर्शन र संस्कृतिका प्राध्यापक ज्युसेफ टुचीले सन् १९५२ मा मुस्ताङको भ्रमण गरेर लेखेको पुस्तक जर्नी टू मुस्ताङमा नै ती गुफाहरूको वर्णन गरेका छन्। "त्यस पुस्तकमा उल्लेख भएका कति कुरा त अहिले हराइसकेका वा चोरी भइसकेका छन्," पछिल्लोपटक अन्वेषण टोलीसँगै गएका पुरातत्त्व विभागका अनुसन्धान अधिकृत लामा भन्छन्।

एकताका मुस्ताङ 'ट्रेजर हन्टर' -खजाना तस्कर)को केन्द्रविन्दु नै थियो भन्ने भनाइलाई टुचीको पुस्तकमा उल्लिखित विवरण र त्यसलाई पछिल्ला अध्ययन टोलीले नभेट्नुले पनि बल दिन्छ। त्यसबाहेक तस्करहरूले खजाना लुट्ने क्रममा अन्धाधुन्ध खनखान र तोडफोड गर्दा त्यहाँका धेरै महत्त्वपूर्ण प्रमाण नष्ट भएको छ।

कम्तीमा १० हजार वर्षअघिदेखि कालीगण्डकी नदी किनारमा रहेको कालीगण्डकी उपत्यकामा मानिस बसोबास गर्थे भन्ने तथ्य त नदीको दुई किनारमा भेटिएका ढुंगाहरूको अध्ययनबाट नै मानवशास्त्री तथा पुरातत्त्वविद्हरूले पत्ता लगाइसकेका थिए। तर, मानिसहरू किन घर नबनाएर गुफामा बसे भन्ने प्रश्न भने अझै पनि अध्ययनकै दायरामा छ। केही सतही तथ्यले भने त्यसबेला भइरहने युद्धका बेला आफ्ना परविारका सदस्य र धनसम्पत्ति जोगाउन गुफामा लगेर राख्ने गरेको देखाउँछ, जुन विस्तारै उनीहरूको नियमित बसोबास गर्ने थलोकै रूपमा विकास भयो। फरक र कठिन भूबनोटका कारण कहिल्यै स्वतन्त्र राज्यको रूपमा रहन नपाएको र धेरैपटक धेरैसँग युद्ध भएको इतिहास छ, मुस्ताङको।

अर्को तथ्य भने बुद्ध धर्मसँग जोडिएर आउँछ। बुद्ध धर्मको विकास र विस्तारको उत्कर्षका बेला अर्थात् नवौँ शताब्दीतिर धर्मको प्रचार-प्रसारका क्रममा विभिन्न विद्वान्हरू त्यही बाटो भएर तिब्बत जाने/आउने गर्ने हुँदा उनीहरूले धर्म सिकाउने क्रममा कठोर तपस्या र साधना होस् भनेर पहाडमा अँध्यारा कोठासहितको गुफा बनाउन लगाएको भन्ने छ। धार्मिक विद्वान्हरू त्यो बाटो हिँड्ने गरेको तथ्य त १७ औँ शताब्दीमा जापानी भिक्षु इकाई कावाकुचीको यात्राले पनि बताउँछ। उनी मुस्ताङकै बाटो भएर भारतबाट जापान फर्केका थिए।

गुफाभित्र रहेका पुराना चित्रले त्यतिखेर फैलिएको बौद्ध धर्मका बारेमा मात्रै बताउँदैनन्, त्यस कालमा मुस्ताङमा हुने स्थायी वा अस्थायी बसाइँसराइको पनि सम्झना गराउँछन्। "छानासहितको मन्दिरका चित्रहरूसमेत कतिपय गुफामा भेटिएपछि मुस्ताङमा उतिबेला तिब्बतीबाहेक भारतीय र काठमाडौँका मानिसहरूसमेत पुगेको हुनसक्छ," सन् २००७ को पहिलो अध्ययनमा संलग्न राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नाल भन्छन्।

धार्मिक प्रयोजनले बनेका त्यस्ता गुफाभित्र निकै मिहिनेत गरेर भित्तालाई समथर पारएिको छ र त्यसमै गुम्बा, चैत्य एवं अन्य भित्तेचित्रहरू बनाइएको छ। छोसेरमा रहेको दुईतले गुफाको माथिल्लो तलामा मात्र त्यस्ता १२ वटा मण्डला चित्रकलाहरू देखिन्छन् भने छोसेरकै फोडालिङ गुफाका चित्रहरू रूख, बाँदर र भारतको महाराष्ट्रस्थित अजन्ता गुफामा रहेका महिलाको चित्रको झल्को दिने खालका छन्। मुस्ताङमा लोमान्थाङपछिको अर्को महत्त्वपूर्ण स्थान मानिने चराङमा अवस्थित चराङ गुफामा ३३ वटा कोठा छन्, जसका सिलिङमा स्वस्तिकको त कतैकतै भित्तामा पञ्चबुद्धका चित्र देख्न सकिन्छ। घिलिङ गाउँको तामागाउँ गुफामा भने छोर्तेन र रञ्जना लिपिमा बौद्ध धर्मसँग सम्बन्धित मन्त्रहरू लेखिएको छ।अहिले भेटिएका ती चित्रहरू पुरातत्त्वविद्हरू र एक अमेरकिी चित्रकला विज्ञ जेफको अध्ययनले एक हजार वर्षभन्दा बढी पुरानो भएको पुष्टि गरसिकेको छ। गुफाभित्र हावापानी र बाहिरी मौसमको प्रभाव त्यतिधेरै नपर्ने हुँदा ती चित्रहरू यति धेरै वर्षसम्म रहन सकेका हुन्।

यतिका वर्षसम्म यी गुमनाम गुफाहरू चर्चामा किन आएनन् त ? यसका धेरै कारणहरू छन्। सन् १९९२ सम्म नेपाल सरकारले माथिल्लो मुस्ताङमा विदेशी नागरकिलाई प्रवेश दिएको थिएन। तर, अहिले भने पाँच सय अमेरकिी डलर लिएर विदेशीलाई १० दिनको प्रवेश अनुमति दिने गरएिको छ र त्यसभन्दा बढी दिन बस्नुपरेमा दैनिक ५० अमेरकिी डलर थप तिर्नुपर्छ। अर्को समस्या नेपाल सरकारसँग अन्वेषणका लागि पर्याप्त बजेट नहुनु हो। अनुसन्धान अधिकृत लामाको भनाइ छ, "न त हामीसँग दक्ष जनशक्ति छ, न त त्यस्तालाई लिन सक्ने बजेट नै।" सरकारी बजेटकै कुरा गर्ने हो भने यस वर्ष विभागलाई उत्खननका लागि १३ लाख रुपियाँ मात्र छुट्याएको छ। जबकि, पिटर एथेन्स नेतत्वको १६ जनाको अनुसन्धान टोली एकपटक जाँदा मुस्ताङमा मात्रै करबि ५० लाख रुपियाँ खर्च भएको छ। यो टोली अनुसन्धानका सिलसिलामा तीनपटक मुस्ताङ पुगिसकेको छ।

गुफासम्म पुग्न हुने असहजता पनि यसलाई गुमनाम राख्ने महत्त्वपूर्ण कारण हो। परबाट हेर्दा सहज लागे पनि गुफामा पुग्नु त्यति सहजचाहिँ छैन।अन्वेषण टोलीका नेता पिटर एथेन्सले समेत आफ्ना टोलीका सदस्यहरूसँग कतिपय अवस्थामा सगरमाथा चढ्नुभन्दा कठिन भएको बताएका थिए। निकै कठिन ढंगबाट डोरीमा झुन्डिएर पुग्नुपर्ने ती गुफामा जाँदा दुईपटक त टोलीका सदस्यहरू दुर्घटनामा परेर घाइतेसमेत भए। तीमध्ये एक जनाको उद्दारका लागि आपतकालीन रूपमा घटनास्थलमा हेलिकप्टर नै लैजानुपरेको थियो।

नेपाल सरकारसँग काम गरेको जर्मन संस्था कोलफिल्ड मिसेजल इन्स्िटच्युट फर हाइअर स्टडिजले सन् '८० र '९० को दशकमा मुस्ताङमा काम गर्दा मानव इतिहाससँग जोडिएका तथ्यहरू पहिलोपटक फेला पारेको थियो। त्यस क्रमममा जोमसोमभन्दा दक्षिणपट्ट िअवस्थित चोकोपानी भेगमा झन्डै ईसापूर्व १२०० देखि इपू ४५० बीचका चिहानहरू भेटिएका थिए। त्यस्तै मुक्तिनाथनजिकै रहेको मेब्राक गुफामा समेत अर्को एउटा चिहान भेटिएको थियो, जो ईपू ४५० देखि ईसं १०० बीचका भएको अवशेषको प्रयोगशाला परीक्षणको नतिजाले बताउँछ। अमेरकिाको युनिभर्सिटी अफ क्यालिफोर्नियाको स्कुल अफ सोसल साइन्स, ह्युम्यानिटिज एन्ड आट्र्सका डिनसमेत रहेका मानवशास्त्री प्रा मार्क अल्डेन्डिरफरका अनुसार जर्मनहरूले परीक्षण गरसिकेका ती नमुनाहरूलाई पुनःपरीक्षण गर्दा समेत ती त्यति नै पुरानो भएको पुनःपुष्टि भएको थियो।

पिटर एथेन्सको अध्ययन टोलीमा समेत सदस्य रहेका मार्कले नेपालसँगको इमेल वार्तामा भने अनुसार सन् १०० देखि सन् ७०० को अवधि भनेको ऐतिहासिक रूपमा निकै कम बुझिएको समयावधि हो। यद्यपि, अध्ययनको एउटा राम्रो उपलब्धि भनेको सामजोङमा भेटिएको कंकाल हो, जुन सन् ४०० देखि सन् ५०० बीचको र सन् ६०० देखि सन् ७०० बीचको बुझिन्छ। यसले त्यसबेला गुफाका केही कोठा चिहानको रूपमा प्रयोग गर्ने गरएिको पनि बताउँछ। उनले भनेझैँ गुफा परसिरका माथिल्ला तला चिहानकै लागि तयार पारनिे गरेको पनि अध्ययनले देखाएको छ।

यद्यपि, सन् ७०० यता भने तिब्बत वा हिमालयतिरबाट धेरै मानिसहरू बसाइँ सर्दै मुस्ताङ आए, जो पहिलेदेखि नै गुफामा बस्थे। "उनीहरूकै कारण बल्ल त्यहाँ वैज्ञानिक ढंगबाट बस्नयोग्य गुफा बन्न थाले। ती सहज पानी उपलब्ध हुने गरी कालीगण्डकी नदीतर्फ मुख फर्किएका हुन्थे, जुन सत्रौँ शताब्दीसम्म चल्यो," मार्क भन्छन्, "गुफाको इतिहाससँगै यसले मानवशास्त्री, भूगर्भशास्त्री, इतिहासविद्, भाषाविद् रअणुशास्त्रीबीच पूर्वमा दक्षिणी चीनको युनानदेखि पश्चिममा उत्तरी भारतको लद्दाखसम्म फैलिएको हिमालय क्षेत्रको इतिहास र विकासक्रमबारे अनेकन मतभिन्नतामा थप बहस र अध्ययन गर्ने वातावरण सिर्जना गरेको छ।" मानवशास्त्रीहरू उक्त हिमालय क्षेत्रमा एकैखाले सांस्कृतिक क्रमबद्धता भएको मान्छन्। पछिल्लो समय तिब्बत, लद्दाख र मुस्ताङमा भेटिएको एकैखाले सुनजडित मुकुटले त्यसलाई थप आधार प्रदान गरेको छ।

अहिले मानवशास्त्रीहरू मुस्ताङमा पछिल्लो अनुसन्धानका क्रममा मानव अवशेषसँग भेटिएका दाँतको अध्ययन गररिहेका छन्, जसले ऊ कुन ठाउँको हावापानीमा हुर्केको र कुन वर्णको मान्छे हो भन्ने थाहा दिन्छ। अध्ययनकर्ताहरूले बसाइँसराइको क्रमसमेत त्यसमा जोडिएको हुनसक्ने ठानेर तिब्बतबाट नेपाल हुँदै बग्ने नदीका पानीको नमुनासमेत लगेका छन्। त्यसले प्राध्यापक मार्कले भनेझैँ 'हाई हिमालयन आर्क'मा रहेका उपत्यकाहरूको विकासक्रम एउटै हो भन्ने अर्को अध्ययनलाई समेत मद्दत गर्न सक्छ।

तर, मुस्ताङमा रहेर लामो समय अध्ययन गरेका पुरातत्त्व विभागका पूर्वउपसचिव शुक्रसागर श्रेष्ठ भने मुस्ताङका ती गुफालाई एउटा प्रयोजनका लागि मात्रै बनेका थिए भनेर भन्न नमिल्ने बताउँछन्। भन्छन्, "कुनैमा मानिसहरू बसोबास गर्ने गरेको भेटिन्छ, कतै तपस्या गर्न बनाएजस्तो, कतै चिहान पुर्न बनाएजस्तो। त्यसैले यसको अध्ययन निकै भिन्न र कठिन काम हो।"