21 December 2011

एसएलसीको परीक्षाफल प्रकाशित भएसँगै 'भविष्य कस्तो बनाउने ?'


एसएलसीपछिको गन्तव्य

    आशिष लुइँटेल
    अषाढ १९ -
    एसएलसीको परीक्षाफल प्रकाशित भएसँगै 'भविष्य कस्तो बनाउने ?' भन्ने महत्त्वपूर्ण सवालको निर्णय लिने जिम्मेवारी पाउने सबै साथीलाई हार्दिक बधाई । अब कुन कलेज भर्ना हुने ? कस्तो विषय छनोट गर्दा आफ्नो लक्ष्यमा पुगिन्छ ? भन्नेजस्ता आधारभूत प्रश्नले दुईचार दिन टाउको दुखाउँछ । यस्ता प्रश्नको मुकाबिला गर्ने बेला हाम्रो जस्तो उरन्ठेउलो दिमाग आत्तिन सक्छ जसबाट सहरमा च्याउसरि खुलेका कलेजले फाइदा लुट्न सक्छन् । हामीमात्रको विडम्बना के भने हाम्रो देशमा आफ्नो योग्यता, रुचि र औकातअनुसारको विषय पढ्न कहाँ पाइन्छ, कस्तो प्रक्रिया छ भन्ने विषयमा आधिकारिक सल्लाह दिने निकाय छैन, त्यसैले ठगहरूको पञ्जामा पर्न सकिन्छ ।

    परीक्षाफल प्रकाशित हुँदानहुँदै अधिकांश कलेजले आफू 'अरूभन्दा ज्यादै गतिलो रहेको' भनी गर्ने दाबीले मुलुकभित्रै त्यस्तै राम्रो कलेज वा उच्चमाविको खोजिममा लाग्ने जोकसैले ठुलै अन्योल भोग्नुपर्छ । साथीको कुरा सुन्ने कि, घरको कुरा मान्ने कि, विज्ञापनको पछि हिँड्ने कि, के गर्ने, के नगर्ने ? दोधारमा परिन्छ । यही दोधारका बीच गलत छनोट गरियो भने फुर्सदमा पछुताउनुपर्छ । गलत छनोटका सिकार भएकाहरूमध्ये कसैले बीचैमा पढाइ छाड्ने, कोही पटकपटक असफल हुने, केही कुलतमा फस्ने अनि कति त आफ्नो लक्ष्य नै त्याग्न बाध्य हुनेजस्ता अस्वाभाविक तर कटु यथार्थ देखिँदै आएका छन् जसका उदाहरण समाजमा सर्वत्र भेटिन्छन् । हामीचाहिं यस्तो नबन्न सजग रहनुपर्छ । 

    कस्ता कलेज राम्रा ?

    अहिलेको जमानामा कोरा किताबी ज्ञान मात्र सबैथोक होइन भन्ने बुझेर समूहगत भूमिका निर्वाह गराउने, देश तथा विदेशका तत्कालका विषयमा खुलेर बहस, छलफल गर्न सिकाउनेखालका कलेजको खोजी गर्नुपर्छ ।

    कोही चिनजानका दाइदिदीले कुन कलेजबाट प्लस टु उत्तीर्ण गरेका हुन् त्यो बुझ्नुपर्छ र उक्त कलेजबारे सोध्नुपर्छ तर याद गर्नुपर्ने कुरा के भने त्यसरी सल्लाह लिन जसकोमा गइन्छ, उसको आचरण सकारात्मक छ भन्नेमा पहिला ढुक्क हुनुपर्छ नि ।

    अब बुझ्नुपर्ने कुरा हो व्यवस्थापकीय पक्ष । मानौं विज्ञान संकायमा भर्ना भइयो, ल्याब गर्नुपर्ने हुन्छ त्यो बेला चाहिनेभन्दा बढीलाई एउटै सामग्रीमा कोचाकोच प्राक्टिकल गर्न लगाइन्छ भने त्यहाँ के सिकिन्छ ? हो, यो कुरा स्पष्ट बुझ्नुपर्छ । कतिपय त कस्तो हुँदोरैछ भने चिल्लो ब्रोसरमा यो छ, ऊ छ भनेर लेखिदने तर कलेज भर्ना भएकालाई ती केही सुविधा

    नदिने । यसमा बढो चनाखो बन्नुपर्छ ।

    जुन कलेजमा भर्ना हुन भनेर गइन्छ त्यहाँबाट उत्पादित विद्यार्थीले बजारमा कतिसम्म प्रतिस्पर्धा गर्न सकेका छन् र बाँकी पढाइका लागि राम्रा इन्स्िटच्युटहरूमा कतिले नाम निकाल्न सकेका छन्, त्यो महत्त्वपूर्ण कुरा हो त्यसलाई बुझ्नुपर्छ । हाम्रो कलेजबाट अहिलेसम्म यति जना टपर भए वा हाम्रो नतिजा कस्तो राम्रो छ भनेर लोभ्याउने पनि हुन्छन्, त्यता भुलिनु हुन्न । एक दुईजना टपर भए भन्दैमा त्यो कलेज राम्रै हुन्छ भन्ने छैन ।

    सैद्धान्तिक र व्यावहारिक ज्ञानको महत्त्वलाई उत्तिकै बुझेर शिक्षा दिन सक्ने  कलेजतिर आँखा लाउनुपर्छ ।

    धान्न सकिने शुल्क, दक्ष शिक्षकशिक्षिका, खेलमैदानसहितको सुविधायुक्त भवन, शान्त वातावरण, कुशल व्यवस्थापन, पर्याप्त अतिरिक्त क्रियाकलाप र उच्च नतिजा भएका राम्रा कलेज हुन् ।

    राम्रा कलेज कसरी छान्ने ?

    सर्वप्रथम आफ्नो लक्ष्य पहिल्याउनुपर्छ । के बन्ने ? त्यसका लागि के पढ्नुपर्छ भन्ने बारेमा स्पष्ट हुनैपर्छ । मेरै कुरा गर्दा इन्जिनियर बन्ने लक्ष्य पूरा गर्न मसँग दुइटा छनोट थिए- कि त +२ विज्ञान संकायमा गर्ने कि त ओभरसियर पढ्ने । अग्रज, घरपरिवार सबैसँग छलफल गर्दा मेरा लागि पहिलो विकल्प उचित लाग्यो अनि मैले त्यही गरेँ । कस्तो 'करिअर' बनाउन चाहेको हो त्यो पहिले छलफल गरेर निर्णय गर्नुपर्छ ।

    अब लक्ष्य र पढाइ निर्धारणपछि कुरा आउँछ पैसाको अर्थात् 'फि' को । कतिसम्म 'अफोर्ड' गर्न सकिन्छ ? त्यस्तै विद्यालय छान्न हिच्किचाउनु हुँदैन । आफ्नो इच्छा, आकांक्षा, पैसा अनि सुलभ स्थान सबै सुहाउँदो हेरेर मात्र विद्यालय छान्नुपर्छ ।

    साथै किताबी कोरा ज्ञानमा मात्र लाद्ने विद्यालयलाई छनोटमा नपार्नु बेस । किताबी ज्ञानसँगै बौद्धिक विकासका लागि राजनीतिक ज्ञान अनि समाज र घरपरिवारको उतारचढावका बारेमा समेत सामाजिक क्षमता विकास गराउन सक्ने विद्यालयलाई रोजाइमा पार्ने प्रयास गर्नुपर्छ ।

    धेरै नभई थोरै विद्यार्थी भएका अनि उच्च माध्यमिक शिक्षा परिषद्बाट नियमित रूपमा अनुगमन भइरहने साथै दक्ष तथा विद्यार्थीलाई पूरा समय दिने शिक्षक भएका विद्यालय छनोटमा पार्न सक्नुपर्छ ।

    हिजोआज विद्यालयका ब्रोसरहरू चिल्ला गाता भएका हुन्छन्, ठूलठूला कुराहरू लेखेर विद्यार्थी तथा अभिभावकलाई आकषिर्त पार्न हरदम प्रयासरत हुन्छन् । त्यसैले प्रोस्पेक्टसमा लेखिएका कुरा त्यहाँ छन् कि छैनन् भनेर तुलना गर्नुपर्छ ।

    भर्ना गराउन विद्यलयमा पुग्न नपाई गेटैदेखि चाप्लुसी घस्दै सोफामा राखेर चिसो र तातो सोधीसोधी ख्वाउने, टपरहरू आफ्नैमा पढ्छन् भनी प्रचारबाजी गर्ने तर सामान्य विद्यार्थीको पनि राम्रोसँग हेरचाह गर्न नसक्ने थुप्रै विद्यालय छन्, तिनीहरूबाट आफूलाई बचाइएन भने ठूलै पश्चात्ताप बेहोर्नुपर्छ ।

    एसएलसीमा बढी अंक ल्याउने १/२ विद्यार्थीलाई जसरी हुन्छ आफ्नामा तान्ने र भोलिपल्टदेखि उनीहरूको तस्बिरसहित आकर्षक विज्ञापन गराएर अरूलाई आकषिर्त गर्न सकिन्छ भन्ने मनोविज्ञानबाट ग्रसित कलेजको सोचाइमा धक्का पुर्‍याउनु अत्यावश्यक छ । फेरि दोहोर्‍याउँछु, एक दुईजना उत्कृष्ट विद्यार्थी त्यहाँ भर्ना हुँदैमा त्यही कलेज नै राम्रो हो भन्नु सरासर गलत हो । त्यसो त परीक्षाफल शतप्रतिशत सफल हुँदैमा कलेजको स्तर राम्रो हुनैपर्छ भन्ने हुँदैन । अन्त्यमा अब हामी स्कुले बच्चाको व्यवहारबाट अलिक उक्लनुपर्छ । कुनै गल्ती गरेमा केटाकेटी हो, यस्तो त भइहाल्छ नि भनेर अब छुट पाइन्न, लिनु पनि हुन्न । केही गल्ती भएमा तत्काल माफी मागिहाल्ने बानीको विकास गर्नुपर्छ । त्यसो त मान्यजनलाई आदर, सत्कारको कुरा त भुल्नै हुँदैन । ठूलो पल्टिएछ भनेर पछिल्तिर कुरा काट्ने धेरैको बानी हुन्छ, तिनको मुखमा बुजो लाउनुपर्छ ।