21 December 2011

एसएलसी अघि र पछि


एसएलसी अघि र पछि

    उषा हमाल
    जेष्ठ २४ -
    निकट भविष्यमा एसएलसीको परिणामरूपी गड्याङगुडुङ आकाश थर्कनेगरी गर्जने नै छ । अनि उच्च माध्यमिक कक्षा सञ्चालन गर्ने कलेजहरू यो वर्षका विद्यार्थीहरू मेरा भन्दै न्वारानदेखिको बल निकालेर कराउनेछन् ।

    एसएलसी परीक्षा दिएका भाइबहिनीहरू, तिमीहरूका लागि परिणाम नआउँदासम्मको यो स्वणिर्म समय हो । यतिबेला तिमीहरूले स्कुलका गह्रौं किताबका झोलाहरू बिसाउने मौका पाएका छौ । राम्रो परिणामका लागि पर्याप्त मिहेनत गरिसकेका

    छौ । निश्चिन्त होऊ । यो समय तिमीहरू नाच, गाउ, खेल, चित्र कोर र कविता लेख । प्रकृतिको काखमा जाऊ, चराहरूकोे गीत सुन र रमाऊ । केही समयपछि तिमीहरूको नयाँ जीवनको सुरुवात हुनेछ । गतवर्ष एसएलसी परीक्षाको परिणाम निस्केपछिका यी केही झलक पढ र मनन गर । आफ्नो लक्ष्य के

    हो ? चुनौतीहरू के-के हुन् ? बाटो नबिराउनलाई कसरी हिँड्नुपर्छ ? यो वर्ष पनि काठमाडौं उपत्यका र देशका ठूला सहरहरू विभिन्न कलेजका विज्ञापनले रङ्गिनेछन् । जता हेर्‍यो, त्यतै ब्यानर र होर्डिङबोर्डहरू देखिनेछन् । टीभी र रेडियोहरू पनि यस्तै विज्ञापनहरू बोल्नेछन् । पत्रिकाहरूले फुलपेज कलेजका रंगीन विज्ञापनहरू छाप्नेछन् । कुन कलेज भर्ना हुने, कुन विषय पढ्ने तिम्रो अगाडि विकल्पहरूको ओइरो लाग्नेछ । यी विज्ञापनहरूले तिमीहरूका कलिला मनमा द्विविधाका पहाड खडा गरिदिन सक्छन् ।

    विशेषगरी यी विज्ञापनहरूले प्रायः ती केटाकेटीहरूलाई अन्योलमा पार्छन्, जो भर्खरै उपत्यका वा देशका ठूला सहरहरूमा भित्रिएका हुन्छन्, जसका अभिभावकहरू उनीहरूबाट टाढा हुन्छन्, जसले स्कुलमा राम्रो निर्देशन पाएका हुँदैनन्, जसले आफ्नो रुचि र क्षमतासँग मिल्दो विषय छनोट गर्न सक्दैनन्, जोसँग विविध विषयको रोजगारीे बजारको जानकारी छैन, जसले आफ्नो रुचिभन्दा बढी अभिभावकको दबाबबाट विषय छनोट गर्नुपर्ने हुन्छ । जोसँग उच्च महत्त्वाकांक्षा छ र अभिभावकको खल्तीको क्षमताको अन्दाज छैन । तिम्रो अगाडि यस्ता चुनौती तेर्सिने छन् र तिमीहरूले सावधानीपूर्वक निणर्य लिनु पर्नेछ ।

    गतवर्ष एसएलसीको परिणाम प्रकाशित भएलगत्तै महेन्द्रनगरबाट दीपक, विक्की, रमेश, विमल र प्रकाशसँगै प्लस टु पढ्न काठमाडौं भित्रिए । यी पाँचैजना केटा पढाइमा अब्बल दर्जाका विद्यार्थीहरू हुन् । उनीहरूले प्राप्त गरेको अंक सरदर विशिष्ठ श्रेणीको छ । यी सोह्र नटेकेका केटाहरू उमेर र सम्ूह दुवैखाले मनोविज्ञानबाट प्रभावित त हुने नै भए । फलस्वरूप उनीहरू अभिभावकको सल्लाहभन्दा समूहको निर्णयलाई महत्त्वपूर्ण ठान्ने पनि भइदिए । यी केटाहरूलाई कुन विषय, कहाँ र कुन कलेज पढ्ने जस्ता कुरामा शिक्षकहरूको पनि राम्रो निर्देशन भएन । प्रायः शिक्षकले आफैंले वा आफ्ना साथीभाइहरूले सञ्चालन गरेका कलेजहरूमा भर्ना हुन उनीहरूलाई सिफारिस गरे ।

    उनीहरू आफ्ना मध्यमवर्गीय अभिभावकको करिब एक महिनाको कमाइ लिएर काठमाडाैं आएका थिए । त्यो सबै पैसा त कलेजतिर दौडधुप गर्न र भर्ना फारम किन्नमै सकियो । उनीहरूले सेन्ट जेभियर्स, एसओएस, काठमाडाैं विश्वविद्यालय, विश्व निकेतनजस्ता अनेकौं कलेज पुगेर भर्ना फारम किने । फारमका मूल्य पनि कलेजका अनुहारअनुसार दुई सयदेखि पाँच सयसम्म पर्दोरहेछ । उनीहरूलाई ती कलेज कहाँ छन् र कसरी जानुपर्छ भन्नेसम्म थाहा थिएन । काठमाडौं विश्वविद्यालय जाँदा बाटो बिराएर खेतैखेत हिँड्दा जुत्तासमेत हिलोमा डुबेका थिए ।

    यीमध्ये कतिपय कलेजमा त उनीहरूले प्रवेश परीक्षासमेत दिन भ्याएनन् । केही कलेजमा विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका भए पनि तयारी गर्ने समय नभएर उनीहरूको प्रवेश परीक्षामा नाम निस्किएन । ती कलेजमा भर्ना गराउन सहयोग गर्ने उनीहरूसँग कुनै पहुँच पनि थिएन । अब उनीहरूको विकल्प भनेको विज्ञापनको पछि लागेर अरू कलेज धाउने रह्यो । ती कलेजका लागि भने केटाहरू विशेष महत्त्वका भइदिए । कारण उनीहरूको परीक्षाको राम्रो परिणाम र पाँचजनाको समूह । अब उनीहरू ती कलेजका तानातानमा परे । कसैले शुल्कमा राम्रो छुट दिन्छौं भने कसैले होस्टेलमा राखिदिन्छौंसम्म भने । हुँदाहुँदा तिनीलाई ती कलेजले दशैंमा उपत्यकाबाट गाउँघर गइरहेका यात्रीलाई बसपार्कमा बसवालाहरूले तानातान गरेजस्तो स्थितिमा पुर्‍याए । यतिन्जेलसम्म उनीहरूको ओँठ सुकेको र अनुहार नीलो भइसकेको थियो । यसरी उनीहरूले कलेज भर्नामै धेरै हन्डर खाए, विषय छनोट त परै जाओस् । यो अवस्थामा उनीहरूका अभिभावकहरूको मनस्थिति कस्तो भयो होला ?

    उच्चशिक्षा प्रवेश गर्दा विषय छनोट अत्यन्त महत्त्वपूर्ण हुन्छ । प्रायः विद्यार्थीमा अाफैं प्राविधिक विषयप्रति आकर्षण देखिँदैन । प्राविधिक विषयहरू पढ्दा रोजगारीको अवसर छिटो मिल्ने सम्भावना रहन्छ । यो कुरा पश्चिम नेपालको दुर्गम पहाडी जिल्लामा बस्ने रूपकले बुझेका रहेछन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अर्थात् सीटीईभीटीबाट सञ्चालन हुने डी फार्मेसी विषय पढ्ने विचार गरेर उनी काठमाडाैं भित्रिएका थिए । प्रवेश परीक्षाको तयारीका लागि नाम चलेको कोचिङ कक्षामा भर्ना भए । उनले प्रथम श्रेणीमा एसएलसी पास पनि गरे । रिजल्ट प्रकाशित हुनासाथ कलेजहरूले धमाधम भर्ना लिनथाले, तर सीटीईभीटीको प्रवेश परीक्षाको नामनिसानै देखिएन । रूपक लगायतका विद्यार्थी र तिनका अभिभावकहरूले सीटीईभीटी प्रशासनसँग छिटो भर्नाको सूचना निकाल्न आग्रहसमेत गरे, तर केही लागेन । रूपकले पढिरहेको कोचिङ कक्षाबाट प्रवेश परीक्षाको तयारी गरिरहेका उनका साथीहरूले विभिन्न कलेजमा भर्ना भएर लाखापाखा लागे । रूपकले पनि सीटीईभीटीको प्रवेश परीक्षाको प्रतीक्षा गरिरहन सकेनन् । किनभने धेरै कलेजले भर्ना रोकेर कक्षा सञ्चालन गरिसक्दा  पनि सीटीईभीटीको प्रवेश परीक्षाको सूचनाको सुइँकोसम्म पनि आएन ।

    सीटीईभीटी र अन्य कलेजको भर्ना समय मिल्दोजुल्दो भइदिएको भए रूपकजस्ता प्राविधिक विषय पढ्न चाहने विद्यार्थीहरूलेे प्रवेश परीक्षामा निर्धक्क समावेश हुनसक्थे । यसतर्फ ध्यानाकर्षण हुनु जरुरी छ । कलेजहरूले पनि स्वस्थ विज्ञापन गरिदिनुपर्छ, जसले गर्दा विद्यार्थीहरूलाई कलेज छनोटमा द्विविधा उत्पन्न नहोस् । उच्च माध्यमिक शिक्षा परिषदले अस्वस्थ विज्ञापनमा प्रतिबन्ध लगाउने र गुणस्तर अनुगमन गरिदिनुपर्छ । एसएलसी दिएका आफ्ना स्कुलका विद्यार्थीहरूलाई उच्चशिक्षा पक्रने सही बाटो देखाइदिने कर्तव्य ती स्कुलका शिक्षकको पनि हो । भाइबहिनीहरू, तिमीहरूले आफ्नो क्षमता र रुचि  मिल्दो रोजगारमूलक विषय छान । विषय र कलेज छान्दा आफ्ना अभिभावकको आर्थिक क्षमतालाई पनि बुझिदेऊ । शुभकामना छ । तिमीहरूले बिराउनेछैनौ ।

    लेखक जिल्ला शिक्षा कार्यालय

    काभ्रेपलाञ्चोककी उपसचिव हुन् ।

    प्रकाशित मिति: २०६८ जेष्ठ २५ ०९:१०