12 December 2011

नेपाली शरणार्थी’


युरोपेली देशमा छरिंदै ‘नेपाली शरणार्थी’
युरोपेली देशमा छरिंदै ‘नेपाली शरणार्थी’ सन्तोष न्यौपाने/ उज्यालो । बेल्जियम, मंसिर २६ – पहिलो कथाः मेरो घर चितवन हो । म माओवादी कार्यकर्ता थिएँ । पार्टीमा भैरहेको आर्थिक हिनामिनाको बारेमा थाहा पाए पछि मैले त्यसको भण्डाफोर गरेँ तर पार्टीले उल्टै मलाई पो पैसा खाएको आरोप लगायो । रकम फिर्ता नगरे मलाई ‘नछोड्ने’ धम्की आयो । अनि म मेरो सुरक्षाको लागि बेल्जियम आइपुगें ।
 
दोश्रो कथाः म २२ वर्षको भएँ । म नेपालमा गाडी चलाउँथे । माओवादीले मलाई पार्टीमा लाग्न दबाब दिए । मैले नमानेपछि उनीहरुले मेरो घरमा आगो लगाए । मलाई अपहरण गरे । तर म भागेँ र यहाँ आइपुगेँ । 
 
तेश्रो कथाः म माओवादीमा काम गर्थेँ । माओवादी भएकै कारण मलाई सेनाले दुःख दिन थाल्यो । मलाई एक दिन उनीहरुले सामुहिक बलात्कार गरे । म कि मर्नु पर्थ्यो कि त देश छोड्नु पर्थ्यो । त्यसपछि म साथीहरुको सल्लाहले यहाँ आइपुगेँ । 
 
यी घटना पढ्ने र सुन्ने सवैले एकपटक माओवादीको एक दशक लामो सशस्त्र बिद्रोह सम्झिन्छ र यी पात्रलाई त्यो घटनाको पीडित पात्र ठान्न सक्छन् । तर व्यक्ति सक्कली भएपनि उनीहरुका कथा नक्कली हुन् । आफूलाई ‘शरणार्थी’ दावी गर्दै बेल्जियममा अनिश्चित भविष्यसहित बसिरहेकाहरुका यस्तै कथा छन् जसलाई बिश्वासयोग्य बनाउन उनीहरुले अनेक उपाय गर्छन् । युरोपेली देशमा सुरक्षित बसाईको अपेक्षा सहित भित्रिएकाहरुको वास्तविक जीवनमा भनें आकाश पातालको फरक छ । 
 
कमाउन ‘शरणार्थी’ 
 
लाखौं रुपैयाँ खर्च गरेर युरोपेली देश पोल्याण्ड आउने र त्यहाँबाट बेल्जियम, स्पेन र पोर्चुगल पसेर आफुलाई ‘शरणार्थी’ दाबी गर्ने नेपालको संख्या केहि बर्षयता बढिरहेको छ । १९ देखि ३० वर्षसम्मका धेरै युवाले यस्तै काल्पनिक विवरण पेश गरेका छन् । 
 
आफूलाई ‘शरणार्थी’ दाबी गर्दै शरणार्थी शिविरमा बसिरहेका मिनबहादुर थापा धन कमाउनकै लागि बेल्जियम छिरेको बताउनुहुन्छ । ‘सुरुमा पोल्याण्डको वर्किङ भिषामा आएको थिएँ’, थापाले भन्नुभयो, ‘त्यहाँबाट दलाल मार्फत बेल्जियम आएर क्याम्पमा आएँ ।’ शरणार्थीको खानपान लगायतका सबै कुराको जिम्मा बेल्जियम सरकारले लिन्छ । 
 
कञ्चनपुरका गोपाल चन्द पनि चार महिना देखि आफूलाई ‘शरणार्थी’ दावी गर्दै बसिरहनु भएको छ । शरणार्थी  बनेर बस्नु सुरक्षा र सुविधाको हिसावले त सहज छ । तर आफुले देशको माटो बेचेर बस्नु परेको भन्दै पछुतो पनि छ उहाँलाई । 
 
थरी थरीका व्यथा
 
आफूलाई शरणार्थी दावी गर्दै बसिरहेकाहरु थरी थरीका छन् । नेपालमा हुँदा सरकारी सेवामा उच्च तहका कर्मचारी भइसकेकाहरु समेत बेल्जियम छिरेर आफूलाई शरणार्थी दावी गर्दै स्थायी कागजात र नागरिकता समेत बनाएर बसिरहेहका छन् । 
 
अध्ययनको बहानामा होस् वा दलाललाई लाखौं बुझाएर होस् बेल्जियम छिर्ने र आफूलाई शरणार्थी दावी गर्ने क्रम अहिले पनि चलिरहेकै छ । युरोपका अरु देशमा काम गर्ने भिषामा पुगेका र त्यतैबाट बेल्जिएम छिर्ने पनि भेटिन्छन् बेल्जियममा । केहि समययता भनें पोल्याण्ड हुँदै बेल्जियम आउनेको संख्या बढिरहेको छ । नेपाल सरकारले रोजगार गन्तव्यका रुपमा खुल्ला गरेपछि पोल्याण्ड जाने युवा बढेपनि त्यहाँ काम गर्न नसकेर भागेर बेल्जियम पस्ने गरेका धेरै छन् । 
पोल्याण्डबाट भागेर बेल्जियम आइपुगेका युवा अमृत थापा पोल्याण्डबाटै दलालको माध्यम हुँदै आएको बताउनुहुन्छ । पोल्याण्डमा धेरै कमाई हुने लोभ देखाइएको भनदै थापाले भन्नुभयो— तर महिनामा सरदर ३० हजार कमाउन पनि दिनमा १५ घण्टासम्म काम गर्नुपर्दो रहेछ । भागेरै बेल्जियम आइपुगको कमल पाण्डे भनें रोजगारदाताले गर्नै नसक्ने कामसँगै मानसिक तनाव पनि दिने गरेको बताउनुहुन्छ । 
 
सोचे जस्तो छैन
 
तर बेल्जियमको बसाई भनेजस्तो छैन । माओवादीको सशस्ज्ञ द्धन्दकै बेला युरोपेली देश छिरेका दिपक मल्ल स्थायी कागज पाइने आशमै आफ्नो जीवनका उर्वर ९ वर्ष बितेको बताउनुहुन्छ । 
बेल्जियम मात्रै होइन शरणार्थी दावी गर्दै स्थायी बसोवासको कागजातको पर्खाइमा बस्ने नेपाली युरोपका धेरै देशमा भेटिन्छन् । पोर्चुगल, अष्ट्रिया लगायतका देशमा नेपालीको ठूलै समुह भेटिन्छ स्थायी बसोबास अनुमतिपत्रको पर्खाइमा । अष्ट्रियाको राजधानीमा सानोतिनो व्यापार गरेर बस्ने शिव सापकोटा हुन् वा पोर्चुगलको लिस्वन आइपुगेका ज्योती पौडेल सवैले लाखौं खर्च गरेर बिदेश आइपुगेपछि मात्रै त्यो खर्च अनावश्यक भएको बुझेका छन् ।
 
बेलायत हुँदै पोर्चुगल आइपुगेका ज्योती भन्नुहुन्छ ‘के के न हुन्छ भनेर पोर्चुगल आइयो तर उल्टै घरबाट रकम मगाएर जीवन धान्नु परेको छ ।’ प्रसस्त कमाई हुने ठानेर आउने मध्ये धेरै यसरी नै नेपालबाटै खर्च मगाएर समेत गुजारा चलाईरहेका छन् । 
 
१३ लाख खर्च गरेर डेनमार्क हुँदै पोर्चुगलको लिस्वन आइपुगेकी चितवनकी कमला पंगेनी अहिले यतै बस्ने की नेपाल फर्कने भन्ने दोधारमा हुनुहुन्छ । यहाँ आइपुगेपछि थप ६ लाख आफनो खर्चको लागि घरबाट मगाएको उहाँ बताउनुहुन्छ । 
 
युरोपमा स्थायी बसोबासको अनुमतिको आशामा बसिरहेका धेरै नेपाली निकै कष्टकर जीवन बाँचिरहेका छन् । सुखी जीवनको खोजीमा पोर्चुगल छिरेका नेपालीका बारेमा बताउँदै विगत एक दशक देखि पोर्चुगलमा बस्दै आएका एन आर एन पोचुगलका निवर्तमान अध्यक्ष लक्ष्मि सापकोटा भन्नुहुन्छ — युरोप सोचे जस्तो सजिलो छैन तैपनि आउनेहरुको संख्या घटेको छैन । उहाँ धेरैजसो नेपाली दलालबाटै ठगिने गरेको बताउनुहुन्छ ।