06 January 2012

के हो मास हिस्टेरिया ?

के हो मास हिस्टेरिया ?
काठमाडौं – हिस्टेरिया भन्ने शब्दलाई आजकल मनोरोग विशेषज्ञहरुले त्यति प्रयोगमा ल्याउँदैनन् । हाम्रो समाजमा व्याप्त हिस्टेरिया शब्दलाई यौनसमस्यासँग जोड्ने गलत प्रवृत्ति छ । यसकारण यसलाई होसियारीपूर्वक प्रयोग गर्नुपर्छ । केही वर्षएतादेखि डिस्सोसियटिभ डिसअर्डर नै मानसिक रोगसम्बन्धी पुस्तकहरुमा हिस्टेरियाको पर्यायवाची शब्द बनेको छ ।
पाठकहरुलाई बुझ्न मजिलो होस् भन्ने उद्देश्यले यस लेखमा हिस्टेरिया शब्द नै प्रयोग गरिएको छ । कुनै पनि व्यक्तिलाई हिस्टेरिया हुनुमा त्यस व्यक्तिमा अन्तरनिहित विचार, अनुभूति र कारबाहीमा भइरहेको सामञ्जस्यतामा गडबडी हुनु हो र साधारण व्यक्तिलाई पनि सम्मोहनको मद्दतद्वारा यस स्थितिमा पुर्याउन सकिन्छ ।
किन हुन्छ हिस्टेरिया ?
हिस्टेरिया एउटा यस्तो मनोवैज्ञानिक कवच हो जसलाई बिरामीले अभूतपूर्व मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो । जब कुनै व्यक्तिलाई हिस्टेरियाका लक्षण देखियो भने उक्त व्यक्ति केही न केही मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ ।
सर्वसाधारणमा हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्त्व दिएको देखिन्छ । विभिन्न कारणहरु जस्तै- कुनै दुर्घटना, बालबालिकाहरुको यौनशोषण, हिंसात्मक घटना तथा अन्य कतिपय घटना हिस्टेरियाको कारण हुन सक्छ । झन् त्यसमाथि यस किसिमको घटना विभिन्न कारणले गर्दा साथी तथा परिवारजनसँग बताउन नसक्दा रोग लाग्ने सम्भावना बढी हुन्छ ।
साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरु सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरुले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । यस क्रममा मानसिक द्वन्द्वको ‘फोकस’ पत्ता लगाउन मनोविशेषज्ञहरुले विभिन्न प्राविधिक उपायहरु पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणले हुन सक्छ ।
हिस्टेरियाका लक्षणहरु
हिस्टेरियामा एकमात्र नभएर विभिन्न लक्षणहरु लिएर बिरामी आउन सक्छन् । यस्ता बिरामीले मुर्छा पर्ने, बिर्सिर्ने, घरबाट टाढा भाग्ने गर्न सक्छन् । साथै रुने, कराउने, काम्ने, फिँज काढ्ने, उत्तेजित हुने, बर्बराउनेजस्ता विभिन्न किसिमका असामान्य व्यवहारहरु पनि बिरामीले देखाउन सक्छन् ।
कतिपय बिरामीले आफूलाई भगवान्को रुप र भगवान्को अवतारसम्म पनि भन्ने गरेको देखिएको छ । हिस्टेरियाका लक्षणहरुलाई स्थानीय संस्कृति, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षणहरु पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरुबीच फरक हुन सक्छन् ।
मास हिस्टेरिया के हो ?
माथि उल्लिखित हिस्टेरियाले कुनै समुदाय, गाउँ, स्कुल, कलेज तथा अन्य ठाउँमा एकै पटक धेरै जनालाई आक्रान्त पार्छ भने यो मास हिस्टेरिया हुन जान्छ । नेपालमा मास हिस्टेरिया बेलाबखत विभिन्न जिल्लामा विशेष गरेर स्कुलमा देखा परिरहने गर्छ । दक्षिण एसियाका धेरै देशहरुमा यो समस्या बेलाबेलामा देखिन्छ । साथै पश्चिमी देशहरुमा पनि सदियौंदेखि मास हिस्टेरियाका विभिन्न उदाहरणहरु देखिएका छन् । कुनै बेला लाखौंको संख्या मास हिस्टेरियाको सिकार भएका देखिन्छन् ।
नेपालको परिप्रेक्षमा हेर्ने हो भने विगतमा धेरै संख्या यो रोगबाट आक्रान्त भएका देखिएको छ । विशेषगरी मास हिस्टेरिया एक किसिमको कृत्रिम त्रास जनमानसमा उब्जिएपछि हुने गर्छ । यस किसिमको त्रास धार्मिक, राजनीतिक, स्वास्थ्यसम्बन्धी अथवा कुनै पनि हुन सक्छ । यो त्रास र भयको सिकार एक जनालाई भएपछि लगातार थुप्रै व्यक्तिहरुलाई हुन सक्छ ।
एउटा कुनै सानो घटना बढाई(चढाई गरेर जनमानसमा पुगेपछि पहिलेदेखि नै निरीह बनेको समुदायमा यसको असर बढी देखिन सक्छ । मास हिस्टेरियालाई मास सोसियोजेनिक इलनेस (Mass Sociologenic Illness) पनि भन्न सकिन्छ । यस किसिमको रोगको स्रोत पनि समाज, सामाजिक र राजनीतिक कार्यकर्ता, उच्च अधिकारी, धार्मिक नेता र सञ्चार माध्यमहरु हुन सक्छन् । यस समस्यालाई बढाउन अथवा समस्या समयमै निराकरण गर्न जनसमुदायको अत्यन्त ठूलो भूमिका हुन्छ ।
अन्धविश्वास र मास हिस्टेरिया
अन्धविश्वास, कुरीति, चेतनाको कमी नै हाम्रोजस्तो देशमा मास हिस्टेरियाको कारण र उपचारमा ढिलाइ हुने मुख्य कारणमध्ये एक हो । देउता लागेको, नाग लागेको तथा विभिन्न किसिमका भूतप्रेतहरुमाथिको अन्धविश्वासले गर्दा यो रोग लाग्न मात्र होइन यस रोगको राम्रोसँग उपचार गराउन पनि समस्या देखिएको छ ।
मास हिस्टेरियाको उपचार
सर्वप्रथम कुनै व्यक्तिलाई माथि उल्लिखित लक्षण देखा पर्यो र अरुलाई पनि चाँडोचाँडो त्यस्तै किसिमका लक्षणहरु देखा परेमा सर्वप्रथम त त्यस संस्था अथवा ठाउँको प्रमुख व्यक्तिको ठूलो भूमिका हुन्छ । जस्तै - स्कुलमा यस किसिमका समस्या देखिनेबित्तिकै स्कुलको प्रिन्सिपलले अत्यन्त संयमित भई पटक-पटक यसबारेमा तथ्य सूचना प्रवाह गरिरहनुपर्छ र आफै व्यक्तिगतरुपमा उपस्थिति भई हौसला प्रदान गर्नुपर्छ । स्कुल प्रशासनको गलत सूचनाले समस्या जटिल भई समाधानमा विभिन्न व्यवधान आउन सक्छ । समयमै विशेषज्ञको सल्लाह र सहमतिमा उपचार सुरु गर्नुपर्छ ।
उपचारका क्रममा बिरामी मात्र नभएर उनीहरुका सहपाठीहरु तथा शिक्षक, अभिभावक, समुदायको पनि उपचारमा ठूलो योगदान हुन्छ । कुनै त्रास, भय, हल्ला अथवा कुनै त्यस्तै कुराहरुले समस्या गरिरहेको छ भने सर्वप्रथम त्यस्ता कुराहरुलाई निषेध गर्नपट्टि ध्यान दिनुपर्छ । कारणवश त्यस समुदायमा निरीहपन हाबी भएको छ भने त्यसको कारण पत्ता लगाई निराकरण गर्न कोशिश गर्नुपर्छ । साथै बिरामीलाई उचित परामर्श र औषोधोपचार सुरु गर्नुपर्छ । यो समस्या दोहोरिन नदिन र कतै देखिइहाले पनि यसको चाँडै निराकरण गर्नका लागि शिक्षक, विभिन्न समुदायका अगुवाहरु र आमजनताले व्यापक चेतना जगाउनुपर्ने देखिएको छ । सञ्चारकर्मीहरुको त यसमा अहम् भूमिका रहने गर्छ ।
लेखकः डा. पुष्पप्रसाद शर्मा / साभारः साधना