11 March 2012

आमाबाबुले समय नदिदा बच्चामा आउन सक्ने समस्या


कम्तीमा ३० मिनेट छोराछोरीलाई

'बाबा तपाईंसँग भेट नभएको एक हप्ता भयो। तपाईं कति बिजी हुनुहुन्छ। तपाईंलाई भेट्न मन लागिरहेको छ। मलाई जु लैजाने भनेको हैन?
तपाईंकी छोरी
आई लभ यु बाबा'
छोरीको चिठी पढेर मेरा सहकर्मी मित्र झल्याँस्स भएछन्। उनले छोरीसँग भेटेको वा कुरा नगरेको एक साता पुग्नै लागेछ। उनी काममा व्यस्त। रातको १२-१ बजे घर पुग्छन्। छोरी सुतिसकेकी हुन्छिन्। बिहान उठ्दा ९-१० बजेको हुन्छ। छोरी स्कुल गइसकेकी हुन्छिन्।
'छोरीलाई मसँग भेट्ने, कुरा गर्ने कति इच्छा रहेछ भन्ने मैले चिठी पढेर महसुस गरेँ,' उनको अनुहारभरि चिन्ताका रेखा थियो, 'कामको व्यस्तताले मैले यतातिर ध्यानै दिएको रहेनछु।'
व्यापार वा जागिरमा व्यस्त सबै अभिभावकको चिन्ताको विषय हो यो। आफ्नो परिवारको भविष्य सपार्ने र आफ्नो करिअर बनाउने ध्याउन्नामा आमाबाबु रातदिन काममा अल्भि्कन्छन्। उनीहरूलाई पत्तै हुँदैन, जुन छोराछोरीको खुसीका लागि रातदिन मरिमेटेर लागिरहेका छन्, त्यही छोराछोरी आमाबाबुसँग एकपल बिताउन, एकपल मिठो कुराकानी गर्न तड्पिएर बसेका हुन्छन्। यस्तोमा स्कुलका साथीहरूले अभिभावकसँग घुम्न गएको प्रसंग सुनाए उनीहरूको पीडा झन् थपिन्छ। मेरा सबै साथीलाई उनीहरूका बुबा घुमाउन लग्नुहुन्छ, मेरो बुवा भने कहीँ लग्नुहुन्न- कदाचित् केटाकेटीको मनमा यस्तो भावना गड्यो भने त्यो हटाउन निकै गाह्रो हुन्छ।
छोराछोरीको भविष्य सपार्ने तयारीमा कतै आमाबाबुको व्यस्त दिनचर्याले उनीहरूको वर्तमान त बिगारिरहेको छैन? करिअरको सुर्ता लिँदालिँदै कतै आजका व्यस्त आमाबाबुले आफ्ना खुसीहरू त गुमाइरहेका छैनन्?

बाल मनोविश्लेषक नारायण शर्मा यसलाई 'आधुनिक व्यस्त जीवनशैलीको परिणाम' ठान्छन्। बढ्दो सहरीकरण र आधुनिकीकरणले भौतिक आवश्यकता पूरा गर्न आमाबाबु दुवैलाई काममा नलागी धर छैन। दुवैजना काम नगर्ने हो भने बढ्दो महँगीमा घरखर्च चलाउनै गाह्रो छ। यस्तोमा छोराछोरीलाई समय दिन नसके उनीहरूलाई मानसिक रूपमा नकारात्मक असर पर्नसक्ने शर्मा बताउँछन्।
सहकर्मीकै उदाहरण लिँदा पनि एक साता बाबुलाई नभेट्दा छोरीले न्यास्रो मानिछन्। यही क्रम लामो समय रहे उनी कति न्यासि्रएलिन्? उनमा मानसिक असर नपर्ला त?
'छोराछोरीलाई हरेक दिन थोरै भए पनि समय नदिए आमाबाबुले मलाई माया गर्दैन भन्ने कुरा उनीहरूको मनमा बस्छ,' त्रिचन्द्र क्याम्पसको साइकोलोजिकल डिमार्टमेन्टका उपप्रध्यापक शर्मा भन्छन्, 'यसले उनीहरूमा डिप्रेसन ल्याउन सक्छ।'
उनका अनुसार छोराछोरीलाई आमाबाबुबाट 'लभ, एफेक्सन र सेक्युरिटी' (माया, आकर्षण र सुरक्षा) को खाँचो पर्छ। यीबिना छोराछोरीले आमाबाबुबाट माया पाएको महसुस गर्दैनन्। मायाको अनुभूति नभए केटाकेटीहरूमा तनाव सुरु हुन्छ। उनीहरूलाई माया महसुस गराउने एकमात्र अचुक उपाय हो, समय दिने।
एक अभिभावकलाई त्यस्तै समस्या परेको थियो। उनीहरू दुवै आ-आफ्ना काममा व्यस्त थिए। सात वर्षकी छोरीलाई समय दिन सकेनन्। यसको परिणाम बच्चामा देखियो। त्यो अभिभावकलाई परामर्श दिएकी मनोविश्लेषक स्मृति घिमिरे भन्छिन्, 'बाबुआमाको अट्याचमेन्ट नपाउँदा बच्चामा केही मानसिक समस्या देखिएको थियो।'
उनका अनुसार दुई कक्षा पढ्ने ती नानी पढाइमा कमजोर हुँदै गएकी थिइन्। स्कुलमा पढाएको कुरा राम्ररी टिप्न सक्दैन थिइन्। खुलेर आफ्नो कुरा भन्न सक्दैन थिइन्।
उपप्राध्यापक शर्माले पनि यस्ता धेरै समस्यामा परामर्श दिएका छन्। खासगरी आमाबाबु दुवै व्यस्त हुने सहरी परिवारमा यस्ता समस्या धेरै हुने उनको अनुभव छ। त्यस्ता परिवारमा केटाकेटीको लालनपालन गर्ने अर्कै हुन्छ, जसले आत्मैदेखि माया त गर्ला, तर आमाबाबुको कमी पूरा गर्न सक्दैनन्। मेरो आवश्यकता पूरा गर्ने आमाबाबु नै हो भन्ने बच्चाले पहिल्यै बुझिसकेको हुन्छ। बच्चाहरूमा मानसिक समस्याको सुरुवात यहीँबाट हुन्छ।
शर्मा भन्छन्, 'हामीले बच्चाहरूको विशेषता बुझ्नु जरुरी छ। उनीहरू आत्मनिर्भर हुँदैनन्। आफ्नो मूल्यांकन आफैं गर्न सक्दैनन्। उनीहरूलाई अरूको साहरा चाहिन्छ, सहयोग चाहिन्छ, रेखदेख चाहिन्छ। साहरा दिने भनेकै आमाबाबुले हो। आमाबाबुको पर्याप्त समय नपाएका केटाकेटीहरू आफूलाई असुरक्षित महसुस गर्छन्। मेरो आमाबाबुले त मलाई माया गर्दैन रहेछन् भन्ने उनीहरूलाई लाग्नसक्छ। यसले उनीहरूलाई फ्रस्टेसन हुन्छ, जसको परिणाम गम्भीर पनि हुन्छ।'
कति बच्चाहरू सानै उमेरमा लागूपदार्थ दुर्व्यवसनी हुनुको एउटा कारण यो पनि हो भन्ने उनको निष्कर्ष छ।
मनोविश्लेषकहरूको भनाइमा केटाकेटीसँग समय बिताउनु भनेकै उनीहरूको बारेमा चासो दिनु हो। यसले उनीहरूलाई माया र सुरक्षाको अनुभूति हुन्छ। रेखदेख र सही लालनपालन भनेकै यही हो। आफ्ना छोराछोरीको निम्ति समय निकाल्न नसक्ने अभिभावकले उनीहरूको रेखदेख गर्न सक्दैन। धनी र गरिब दुवै परिवारका केटाकेटीमा रेखदेखको कमीले समस्या आउने शर्मा बताउँछन्।
उनको अनुभवमा, धेरै धनी परिवारमा पैसा अगाडि सर्छ। अभिभावक आफ्ना बच्चालाई जति खर्च गर्न पनि तयार हुन्छन्। जे माग्यो, किनेर ल्याइदिन्छन्। महँगा स्कुलमा पढाउँछन्। महँगा-महँगा सोखहरू पूरा गर्दिन्छन्। तर, समय दिँदैनन्। पैसा खर्च गर्नु मात्र रेखदेख होइन। 'रेखदेख भनेको बच्चासँग समय बिताएर उनीहरूको स्कुलको कुराकानी गर्नु, साथीहरूबारे सोधखोज गर्नु, उनीहरूलाई घुमाउन लग्नु हो,' शर्मा भन्छन्, 'अभिभावक भइसकेपछि जति व्यस्त भए पनि यति समय त निकाल्नैपर्छ। यसको विकल्पै छैन। जो समय निकाल्न सक्दैन, उसले आमाबाबु भन्ने रहर नपाले हुन्छ।'
गरिब परिवारमा पनि दिनहुँको गर्जो टार्दैमा र केटाकेटीका आधारभूत आवश्यकता पूरा गर्न हातखुट्टा चाल्दैमा अभिभावकलाई फुर्सत हुन्न। उनीहरू केटाकेटीसँग बिताउने समय पाउँदैनन्।
कतिपय आमाबाबु आफूलाई देखरेख गर्न नभ्याएर केटाकेटीलाई होस्टलको भर छाड्छन्। यो पनि समाधान होइन।
मनोपरामर्शकर्ता सुनिता ढकालले यस्तै एउटा समस्याको परामर्श गरेकी थिइन्। सात-आठ वर्षको बच्चालाई गाउँबाट सहर ल्याएर होस्टल राखिएको थियो। होस्टलमा बच्चाले राम्ररी पढ्ला भन्ने आमाले सोचेकी थिइन्। सोचेजस्तो भएन। ऊ त आमाबाबुको साथ नपाएर छट्पटिन थाल्यो। उसको आत्मबल कमजोर हुँदै गयो। अरूसँग सिधै कुरा गर्न पनि नसक्ने भयो। त्यही भएर अधिकांश बाल मनोविश्लेषकहरू केटाकेटीलाई होस्टल राख्ने चलनको विरोध गर्छन्।
'बोर्डस राख्नु राम्रो होइन, बाबुआमाले घरमै धेरैभन्दा धेरै समय दिनुपर्छ, आफूबाट छुट्ट्याएर राख्नु भनेको जिम्मेवारीबाट भाग्नुजस्तै हो,' शर्मा भन्छन्, 'होस्टल राख्नेबित्तिकै केटाकेटीले गर्ने पहिलो अनुभव भनेको, मलाई आमाबाबुले नेग्लेक्ट गरे भन्ने हुन्छ।'
होस्टल बसेका धेरै केटाकेटीमा सामाजिक मर्यादा, घरपरिवारको माया कम हुने उनको अनुभव छ।
शर्माले अर्को घटना सुनाए- एकजना १४ वर्षको बच्चा होस्टल बस्थ्यो। उसको बाबु विदेश। उनी बच्चाले मागेजति पैसा पठाइरहन्थे। तर, त्यसको सदुपयोग हुन सकेन। बच्चा गाँजाको लतमा फस्यो।
यस्ता समस्या यत्रतत्र छन् राजधानीमा, जसको एउटा मुख्य कारण आमाबाबुले छोराछोरीलाई पर्याप्त समय नदिनु हो। रेखदेखको कमी हो।
चाइल्ड प्यारेन्ट्स रिलेसनसिप थेरापी
बच्चालाई पर्याप्त समय दिनु भनेको उनीहरूलाई असल बनाउनतिर अग्रसर हुनु हो। दिनमा कम्तीमा आधा घन्टा समय आफ्नो बच्चालाई दिनुपर्ने बाल मनोविश्लेषक सुनीता ढकाल बताउँछिन्। त्यो समयमा बच्चासँग खेल्ने, उसको इच्छा बुझ्ने प्रयास गर्नुपर्छ। उनका अनुसार बच्चासँगको समय उपयोगी बनाउन 'चाइल्ड प्यारेन्ट्स रिलेसनसिप थेरापी' धेरै उपयोगी हुन्छ। यो बाल मनोविश्लेषकहरूले व्यस्त अभिभावकलाई दिने तालिम हो। यसमा बच्चासँग समय बिताउँदा, खेल्दा उसको मनका कुरा, उसमा भएका समस्या र चाहना कसरी बुझ्ने सिकाइन्छ। खेलका माध्यमबाट बच्चासँग कसरी नजिक हुन्ने भन्ने परामर्श पनि दिइन्छ।
 
आमाबाबुले समय नदिदा बच्चामा आउन सक्ने समस्या
असुरक्षित महसुस गर्छ
मनमा डर हुन्छ
फ्रस्टेसन हुन्छ
आमाबाबुप्रति विश्वास हुँदैन
लागुपदार्थको दुर्व्यसनमा लाग्न सक्छन्
मनको कुरा भन्न सक्दैन
पढाइमा कमजोर हुन्छ
सामाजिक नबन्न सक्छ
सहयोगको भावना कम हुन्छ