27 January 2015

धादिङ-बिहानै उठ्यो, घरधन्दा सक्यो, अनि किताबको झोला र ट्युब च्यापेर लाग्यो स्कुलतिर।
ज्यानभन्दा ज्ञान प्यारो लागेरै होला, उनीहरू ज्यानको आसै मारेर दिनहुँ त्रिशुलीमा हेलिन्छन्।
स्कुल नगई धरै छैन, सहारा भने केही छैन, कोही छैनन्। त्यही टालटुल पारेर हावा भरिएको ट्युबबाहेक।
15
१४ वर्षीया सरिता चेपाङ र १५ वर्षीया राममाया चेपाङ गोरखाको भुम्लिचोक–८, हुइलिङबेसीबाट धादिङको जोगिमारा–९, मझिमटारस्थित शंखादेवी उच्च मावि धाउँछन्। कक्षा ६ अध्ययनरत उनीहरूलाई बीचमा त्रिशुलीले बाटो छेक्छ। पढ्ने मन भएपछि अनेक कष्ट झेल्न पनि हिम्मत आउँछ । त्यही ट्युबको सहाराले उनीहरू दिनहुँ नदीमा हेलिन्छन् र चप्पलले खियाउँदै पारि पुग्छन्। 
त्रिशुली पारिको हुइलिङबेसीबाट पृथ्वी राजमार्गस्थित जोगिमारा, जवाङबाट नदी तर्न उनीहरूसँग कुनै विकल्प छैन। न पुल न तुइन। न त डुंगा नै। मोटरचालकले काम नलाग्ने भएपछि फालेका ट्युब बटुल्छन् र टालटुल पारेर हावा भर्छन्। त्यसैले ज्ञानको बाटो पन्छाउँछन्।
उनीहरूले कक्षा ५ सम्म त पैदल तीन घन्टा हिँडेर वारिकै स्कुल पढे। वारिपट्टि नजिकमा प्राविभन्दा माथि पढाउने स्कुल छैनन्। त्यही भएर वैशाखमा नयाँ शैक्षिक सत्र सुरु भएयता कक्षा ६ मा भर्ना भएका उनीहरू साँझबिहान ज्यानको बाजी थापेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
‘एउटा हातले किताब च्यापेर अर्को हातले चप्पलले पानी पन्छाउँदै बल्लतल्ल पारि पुग्छौं,' सरिताले भनिन्, ‘नदी तर्न नपर्ने भए त तीन घन्टा पनि हिँड्न तयार थियौं, वरपर विद्यालय नै छैनन्, के गर्नू?' जोगिमारा वा कुरिन्टार पुग्नुको विकल्प नभएको उनले सुनाइन्।
16
नदी तर्दातर्दै केही गरी ट्युबको हावा छ्यास्स भयो भने!
उनीहरू जिब्रो टोक्छन्। ‘यस्तो अवस्थामा त मर्ने–बाँच्ने पत्तो हुँदैन, तर पनि पौडिएर बाँच्न सक्छौं भन्ने हिम्मत छ,' राममायाले सुनाइन्, ‘धेरैचोटि जोखिम आए, आजसम्म बाँचेका छौं।' स्कुल पुग्न ढिला हुने पिरले छिटो गर्न खोज्दा चारपटक ट्युब घोप्टिएको उनले सुनाइन्।
‘पौडिएर त्यही ट्युबमा झुन्डियौं र बाँच्यौं,' उनले भनिन्, ‘किताब भने जोगाउन सकेनौं। यस्तो अवस्थामा त साह्रै पीडा हुन्छ।'
यसरी बल्लबल्ल ज्यान जोगाएर स्कुल पुग्दा कपडा पूरै भिजेको हुन्छ। साथमा किताब हुँदैन। किताब जोगाउन खोजे ज्यान रहन्न। ‘किताबै माया मारेर ज्यान जोगाउने गरेका छौं। धन्न! सरले पुराना किताब दिनुहुन्छ र पढ्न पाइन्छ,' उनले भनिन्।
19
यस्तो दुःख आइपर्दा त अब पढाइ नै छाडौंजस्तो लाग्छ उनीहरूलाई।
‘नदी पार गरेर जब स्कुल पुगिन्छ, साथीहरू भेट्दा पढाइको महत्व झन् बढेजस्तो लागेर आउँछ,' सरिताले भनिन्, ‘अनि जति दुःख गरेर पनि पढ्नचाहिँ छाडिन्न भन्ने लाग्छ।'
नदी तरेपछि पनि उनीहरू ३ किलोमिटर हिँडेर मात्र स्कुल पुग्छन्। भिजेको देखेपछि शिक्षकले किन ढिलो भनेर सोध्दैनन्। ‘कम सचेत समुदायका विपन्न परिवारका बालबालिका कष्ट गरेर विद्यालय आएकामै खुसी छौं,' प्रधानाध्यापक शिवहरि सिलवालले भने।
11
एक घन्टा टाढा छ तुइन। तर जाने बाटै छैन। भिरभिरै हिँड्नुपर्ने। माथिबाट डुंगा गुडेर आउँछ। चिप्लियो भने सिधै त्रिशुलीमा खसिन्छ। ‘नदीमा त ट्युबले जोगाउँछ। भदौ, असोज दुई महिना भिरको बाटो हिँडियो, अरू समय यहीँबाटै वारपार गर्ने गरेका छौं,' राममायाले भनिन्।
12
कक्षा ६ का सरिता, राममाया र हितमाया मिल्ने साथी हुन्। हितमाया कहिले तुइन् त कहिले ट्युबबाट ओहोरदोहोर गर्छिन्। सरिता र राममायाको भने नियमित यात्रा ट्युब नै हो।
‘नदी सुसाइरहेका बेला स्कुल ड्रेसमा किताब च्यापेका साथीहरू ट्युबमा बसेर भेल पस्दा मन चसक्क हुन्छ,' जोगिमारा, जवाङकी कक्षा ६ की विद्यार्थी शर्मिला मल्ल भन्छिन्, ‘वारपार नगरुञ्जेल एकोहोरो हेरिरहन्छु।'
13
सधैं जोखिम मोल्नुभन्दा त स्कुल नजिकै बसेर पढ्दा पनि हुन्थ्यो नि! ‘हामी गरिबका छोराछोरीले कसरी कोठा लिने?' उनीहरूले सुनाए, ‘घरमा ५ महिनालाई खान पुग्ने अन्न हुँदैन, बाउ–दाइहरूले गिठा, भ्याकुर खोजेर, ज्याला–मजदुरी गरेर घर खर्च चलाएका छन्।'
हुइलिङबेसीका तीन, शाखाटारको एक। यी चार घरपरिवारका ३६ जनाको नदी तर्ने एकमात्र विकल्प ट्युब नै हो। तल र माथि भेल छ, बीचमा समथर भएर पानी जमेकाले ट्युब तार्न सजिलो छ। ७/८ वर्षअघिसम्म सिमलका ३/४ वटा मुढा जोडेर नदी वारपार गर्थे उनीहरू, अत्यावश्यक काममा मात्र। खानेकुरा जंगलमै पाइन्थ्यो, कोही स्कुल जाँदैनथे।
‘साता–महिनामा ठूला मानिस मात्र तर्ने गर्थे,' सरिताका बाबु ३९ वर्षीय विष्णु चेपाङले भने, ‘बालबालिकालाई चाडपर्वमा माइत–मावली जाँदा तार्ने गरिन्थ्यो।'
तीन/चार पुस्तादेखि बसोबास गर्दै आएका उनीहरू राज्यले केही नगरेको गुनासो गर्छन्। ‘हामी पनि जनता हौं, अहिलेसम्म सरकारको नुनपानी परेको छैन। भोट माग्न आउँछन्, तुइन बनाइदिन्छौं भनेर आस देखाउँछन् तर जितेर गएपछि फर्किंदैनन्,' विष्णुले भने।
17
गाउँका कार्यकर्ताले चार घरलाई विकास दिन सकिँदैन भन्ने गरेको उनले सुनाए। ‘बरु तुइन भए पनि दुःख गरेर वारिपारि गथ्यर्ौं,' विष्णुले भने, ‘ट्युबमै ज्यान जाने भो।'
गत वर्ष उनीहरूले फिस्लिङमा छिनेको पुलको लठ्ठा ल्याएर तुइन बनाउन कोसिस पनि गरे। १० हजार रुपैयाँ बजेेट पनि परेको थियो। त्यति रकमले पिलर सानो हुने र झन् खतरा हुने देखेर तान्न दिएनन्।
18
‘हामीसँग ५० हजारदेखि १ लाखसम्म भइदिएको भए पिलर र बाकस पनि राखिसक्थ्यौं। न त जिल्लाले सुन्छ, न गाउँलेले,' राममायाका दाजु २३ वर्षीय हेमबहादुरले भने।
नदीकै पिरलोले यहाँका बालबालिका कक्षा ५ भन्दा माथि कसैले पढेनन्। आफूले थाहा पाएदेखि पाँच जनाको ज्यान गएको विष्णु बताउँछन्।
नदी तर्दा लगाउने लाइफ ज्याकेट र कपडा भिज्नबाट जोगाउन बर्सादी व्यवस्था गर्न सकिए पनि ठूलो राहत पुग्ने नेपाल चेपाङ संघका केन्द्रीय सदस्य एवं शंखादेवीका शिक्षक तिलक चेपाङ बताउँछन्।
- See more at: http://nagariknews.com/feature-article/story/32065.html#sthash.GYbRxX1I.dpuf